मकवानपुर खेलकुद सरोकार मञ्चको घोषणा गर्नुहुँदै वेश खड्की ।

हेटौँडा : २१ लाख रुपैयाँ अक्षयकोषसहित मकवानपुर खेलकुद सरोकार मञ्च गठन भएको छ । आइतबार हेटौँडामा पत्रकार सम्मेलन गरेर मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष वेश खड्कीको अध्यक्षतामा १७ सदस्यीय समितिको मञ्च घोषणा गरिएको हो । खेलकुद गतिविधि सञ्चालन गर्ने गरी मञ्च गठन गरिएको बताइएको छ ।

२०८० साल पुस महिनामा हेटौँडा–१० स्थित टिसिएन चौरमा आयोजना गरिएको खेलकुद तथा व्यापार महोत्सवबाट आम्दानी भएको २० लाख रुपैयाँ र सोही रकमलाई मुद्दती खातामा राखेपछि प्राप्त व्याज आम्दानीबाट अहिले २१ लाख रुपैयाँको अक्षयकोष भएको हो । अक्षयकोषलाई एक करोड पुर्‍याउने लक्ष्यसहित मञ्चले वार्षिक खेलकुद अवार्ड गर्ने घोषणा गरेको छ । मञ्चले प्रदेशस्तरीय, राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने जिल्लाका खेलाडीलाई पुरस्कृत गरिने पनि जनाएको छ । मञ्चको उपाध्यक्षमा बसन्त कुमार सिटौला, महासचिवमा लालबहादुर पौडेल, सचिवमा आलोक स्याङ्तान, कोषाध्यक्षमा शोभा घिमिरे रहनुभएको छ ।

मञ्चको अक्षयकोषका लागि ५० हजार रुपैयाँको चेक कोषाध्यक्ष शोभा घिमिरेलाई हस्तान्तरण गर्नुहुँदै वेश खड्की ।

मञ्च घोषणाको अवसरमा अध्यक्ष वेश खड्कीले आफ्ना बुबा स्वर्गीय कृष्णबहादुर खड्कीको स्मृतिमा १० वर्षसम्म हरेक वर्ष ५० हजार रुपैयाँका दरले खेलकुद अवार्डका लागि र ५० हजार रुपैयाँ अक्षयकोषमा राख्ने घोषणा गर्नुभएको छ । अक्षयकोषका लागि ५० हजार रुपैयाँको चेक अध्यक्ष खड्कीले कोषाध्यक्ष शोभा घिमिरेलाई हस्तान्तरण गर्नुभयो ।

मञ्च घोषणा समारोहमा हेटौँडा उपमहानगरपालिकाका निवर्तमान प्रमुख एवम् मकवानपुर खेलकुद विकास समितिका पूर्वअध्यक्ष हरिबहादुर महत, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तान, मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष माधव तिमल्सिना, निवर्तमान अध्यक्ष सानु लामासहित खेलकुद संघका पदाधिकारीको उपस्थिति रहेको थियो ।