म झोले नै हुँ भन्ने केपी बाको भनाईपछि झोले शब्द सर्वाधिक चर्चामा रह्यो । एमालेका नेता, कार्यकर्ता त म झोले नै हो भनेर आफ्नो फोटो नै सामाजिक सञ्जालमा पोस्टाउने होडबाजीमा लागे । नेतृत्वको जस्तोसुकै बेठिक, गलत काम पनि ठिक हो भन्ने अर्थमा झोले भनिएको हो । अझ चाकडी गर्ने, अन्धसमर्थक हुने, विवेक प्रयोग नगर्ने जत्था झोले हुन् । केपी ओली एमालेका अध्यक्ष हुन् । यिनको झोला बोक्न नमान्ने एमालेमा अटाउन गाह्रो छ । पछिल्लो समय यिनको उर्दी, आदेश पालन गर्न अटेर गर्दा भीम रावल, घनश्याम भुसालहरू अझ स्पष्ट शब्दमा भन्दा झोले हुन नसक्दा बहिर्गमनमा परे । अरू असहमति राख्नेहरू पनि यिनको कोपभाजनमा परेका छन् । उषा किरण, बिन्दा पाण्डेहरू यसका उदाहरण हुन् । एमालेमा गुट बनाउने भन्दै विद्या भण्डारीप्रति लक्षित ओलीको अभिव्यक्तिले उनी बाँचुन्जेल अरूलाई नेता मान्न तयार छैनन् । झोले शब्दलाई यिनले जनताको विश्वास समृद्धि सपना झोला भित्र छ त्यहि बोकेर हिँडेको अर्थमा यिनका कार्यकर्ताले अथ्र्याए पनि वास्तविक झोले नेताको चाकडीमा रमाउनेलाई नै भनिन्छ ।

नेपाली समाजमा ‘झोले’ शब्दले विशेष अर्थ बोकेको छ । यो एक किसिमको राजनीतिक अपमान जस्तो लागे पनि यथार्थमा यसले एक गहिरो चेतनाको संकटलाई प्रतिबिम्बित गर्छ । लोकतन्त्रमा सबै नागरिकले विचार राख्ने, प्रश्न गर्ने र समर्थन वा विरोध गर्ने स्वतन्त्रता राख्छन् । तर जब कसैले कुनै नीतिगत कुरा उठाउँछ वा नेतृत्वप्रति सकारात्मक भनाइ राख्छ, तिनलाई नेतृत्वले तेजोवध गर्ने प्रचलन छ । नेतृत्वमा रहनेहरूले दास खोज्छन्, कार्यकर्ता होईन । अझ विडम्बना, केही व्यक्ति वा कार्यकर्ता यस्ता हुन्छन् जसले अन्धसमर्थन मात्र होइन, सोच्नेसम्मको स्वतन्त्रता गुमाइसकेका हुन्छन् ।

‘झोले’ भन्नाले के बुझिन्छ ? यस्ता व्यक्तिहरू जो नेताको हरेक कुरा, हरेक निर्णयको समर्थन गर्छन्, चाहे त्यो निर्णय सही होस् वा गलत । नेतालाई दिनको एक बजे पनि ‘अब साँझ भइसक्यो’ भन्न सक्ने र सिधा रुखलाई पनि ‘यो त बांगो रुख हो’ भनेर समर्थन गर्ने कार्यशैली हो झोलेपन । इतिहासमा हामीले यस्ता पात्रको उपस्थिति देख्दै आएका छौं । पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानको नेतृत्व गर्दै गर्दा सेनाप्रमूख कसलाई बनाउने भन्ने विषयमा २ जना पात्र देखियो विराज बखेती र कालु पाण्डे । विराज राजाको चाकडी गर्थे, दिउँसै राती भयो भन्दा पनि ‘हो महाराज’ भन्थे । सिधा रुखलाई बांगो छ भन्दा पनि स्विकार गर्थे र महाराजको रोजाइमा पनि पर्थे । तर कालु पाण्डे सत्यलाई सत्य भन्ने साहस राख्थे । महाराजको अवज्ञा गरेको जस्तो नहोस् तर रुख सिधा नै छ भन्थे । उनि जनताको पनि प्रिय थिए । पछि कालु पाण्डेलाई सेनाप्रमूख बनाईयो । आज नेपालको राजनीतिज्ञहरुले कालु पाण्डे जस्तो कार्यकर्ताको पहिचान गर्न सकेका छैनन् ।

आजको दिनमा पनि नेताहरू कालु पाण्डे जस्ता इमानदार कार्यकर्ताको खोजी भन्दा विराज बखेती जस्ता अन्धसमर्थकको झुण्ड खोज्छन् । कार्यकर्ता पनि सोँच्दैन, नेताले भनेकै सत्य हो भनेर समर्पित हुन्छ । अनि जब तिनले प्रश्न गर्न थाल्छन्, आलोचना गर्न थाल्छन्, पार्टीबाट निष्कासन पर्छन्, बिन्दा पाण्डे, उषा किरण, धनश्याम भूसाल, भीम रावल, पार्टीभित्रकै नेतृत्वको केही निर्णय प्रति असहमति जनाएवापत उनीहरूलाई कारवाही गरियो । कांग्रेसका ईमान्दार मानिस मिनेन्द्रहरूले टिकट पाएनन् । के यही हो लोकतन्त्र ? के यही हो आन्तरिक छलफलको संस्कार ?

साँच्चै भन्ने हो भने, आज राजनीतिक दलहरूले विवेकशील कार्यकर्ताको होइन, अन्धसमर्थक कार्यकर्ताको खोजी गरिरहेका छन् । सामाजिक सञ्जालमा नेताको हरेक गलत निर्णयको पनि समर्थन गर्ने, घोटालाको पनि बचाउ गर्ने, प्रश्न उठाउने जो कोहीलाई ‘प्रतिपक्षीको दलाल’ भन्ने कार्यशैली विस्तार हुँदैछ । यस्तो माहोलमा विवेक राख्ने, आलोचना गर्ने वा सुझाव दिने स्वतन्त्र चेतनाले स्थान पाउँदैन । झोलेपनको यो प्रवृत्तिले दलभित्र आलोचना गर्ने सम्भावना समाप्त पार्दछ, जसले लोकतन्त्रको आत्मा नै कमजोर बनाउँछ ।

झोले कार्यकर्ताको विडम्बना यो हो कि उनीहरू नेताको गल्तीहरूलाई सुधार्ने होइन, ढाकछोप गर्ने ‘ढाल’ बन्न खोज्छन् । यसरी राजनीति नेताको स्वार्थ र कार्यकर्ताको अन्धसमर्थनमा आधारित हुँदा सिंगो प्रणाली नै पतनतर्फ उन्मुख हुन्छ । कार्यकर्ता भन्ने बित्तिकै निष्ठावान, बौद्धिक र समाजप्रति उत्तरदायी व्यक्तित्वको अपेक्षा गरिन्छ तर आज झोले कार्यकर्ताहरूले त्यस भूमिकालाई बदनाम बनाइरहेका छन् । इतिहासले धेरै पटक देखाएको छ कि विवेकशील कार्यकर्ताले नेताहरूलाई उत्तरदायी बनाउँछन्, तर झोले कार्यकर्ताले नेताको दोष लुकाएर त्यसलाई प्रोत्साहन गर्छन् ।

झोले कार्यकर्ताको अर्को खतरनाक पक्ष भनेको नेतृत्वको प्रत्येक निर्णयलाई न्यायोचित ठहराउने हो, चाहे त्यो निर्णय जनविरोधी किन नहोस् । नेताले सार्वजनिक सम्पत्तिको दुरुपयोग ग¥यो भनेपनि झोले कार्यकर्ताले त्यसलाई क्रान्तिकारी कदम ठान्छन् । यस्ता कार्यकर्ताको समर्थनले नेताहरू निरंकुश बन्दै जान्छन् । झोले कार्यकर्ता र नेतृत्वको संयुक्त प्रवृत्तिको अर्को उदाहरण हो । भ्रष्ट्राचारका कैयौं घटनामा मौन साध्नू । यी कार्यकर्ताहरूको लक्ष्य नेतृत्वको असफलता देखेर सुधार गर्नु हैन, त्यो असफलतालाई समेत गौरवको रूपमा प्रस्तुत गर्नु हो ।

राजनीति केवल कुर्सीको लडाइँ बनेको छैन, यो अहंकारको खेल पनि बनेको छ । जुन नेताहरूले आफूलाई अपरिहार्य सम्झिन्छन्, उनीहरू सत्ता छोड्न मान्दैनन् । तर विश्वका उदाहरण हेर्ने हो भने, राजनीति एउटा निश्चित अवधिसम्मको सेवा हो भन्ने बुझिन्छ । मलेसियाका महाथिर मोहम्मद जसलाई ‘आधुनिक मलेसियाका पिता’ मानिन्छ, उनले पनि जीवनभर काम गर्ने विचार राखे । तर ५३ वर्ष शासन गरेपछि भर्खरको निर्वाचनमा उनको जमानत जफत भयो । चर्चिलले ८० वर्षको उमेरमा अझै काम गर्न सक्ने जिकिर गरे पनि जब आफ्नो वृद्ध तस्वीर देखे, आत्मबोध गरे र राजनीति छोडे । अमेरिकी नेतृ न्यान्सी पेलोसीले पनि ३५ वर्षपछि अब नयाँ पुस्तालाई मौका दिनुपर्ने भन्दै राजनीतिबाट सौहाद्र्ध बहिर्गमन रोजिन् ।

तर हामीकहाँ ! नेताहरू आर्यघाट पुगेपछि मात्र पद छोड्छन् । तिनले सोँच्दैनन् यदि नेतृत्व छोड्ने संस्कार हुन्थ्यो भने लोकतन्त्र सुदृढ हुन्थ्यो । पार्टीले नयाँ विचार र उर्जाशील नेतृत्व पाउँथ्यो । काँग्रेसले यति नै समझदारी देखाएको भए परिस्थिति फरक हुन्थ्यो । तर यहाँ सोचाई सडेको छ । माओवादी पार्टीमा अनेक काण्ड भइरहे पनि कसैले प्रश्न गरे कारबाही गरिन्छ । एमालेमा नेताको निर्णयको आलोचना गरे पद गुम्छ । यसले देखाउँछ, हामीले चर्चिल, महाथिर जस्तै, पदमा टाँसिने ‘नेता’ मात्र उत्पादन गरेका छौँ ।

ली कुआन यु सिंगापुरका प्रधानमन्त्री भए, तर पछि उनी आफ्नै छोराको मन्त्रिपरिषद्को सदस्य भएर काम गरे । हाम्रो देशमा त्यही पारिवारिक सत्ताको ढोका खुल्दैन । यहाँ यदि छोरा राम्रो काम गर्छ भने ‘बाउको आडमा आयो’ भन्ने गरिन्छ, र खराब काम गरे ‘बाउकै असर’ भनेर दोष दिइन्छ ।

आजको झोले प्रवृत्ति केवल केन्द्रिय नेताहरूको वरिपरि सीमित छैन, यो स्थानीय तहसम्म गहिरो रूपमा फैलिएको छ । पालिकाका प्रमुखदेखि वडाध्यक्षसम्म नेताको अन्धभक्तहरूको घेरामा छन् । जसले चुपचाप बजेटको दुरुपयोग, जनताको करको अपमान र सुशासनको हत्या हेरेर पनि समर्थन गर्छन्, ती सबै झोले प्रवृत्तिका संवाहक हुन् । उदाहरणका लागि, एक नगरपालिकाको प्रमुखले आफ्नो नातागोता वा परिचितको निजी व्यवसाय (जस्तै सैलुन, होटल वा कोचिङ सेन्टर) मा करदाताको पैसा खर्च गर्‍यो, तर त्यसविरुद्ध प्रश्न उठाउन कार्यकर्तालाई कठिन हुन्छ । किन कि नेतृत्वले झोलेपन आफ्नो कार्यकर्तामा खोज्छ ।

यस्ता प्रवृत्तिले देशलाई भ्रष्ट्राचार, निराशा र जनताको विश्वास गुमाउने दिशातर्फ लैजाँदैछ । कार्यकर्ता भन्नेबित्तिकै नीतिको पक्षमा, नीति विरुद्ध हुँदा नेताविरुद्ध बोल्न सक्ने हुनुपर्छ । तर झोले कार्यकर्ताले नेताको पुत्ला मात्र बोकेको हुन्छ, विचार होइन । सच्चा नेतृत्व भनेको आलोचना सुन्ने साहस हो । जब कसैले नेतृत्वको कमजोरी औँल्याउँछ, उसको राजनीति तेजोवध गर्नुपर्छ भन्ने मानसिकता राजनीतिक कमजोरी हो ।

अब समय आएको छ झोलेपनको पर्दाफास गर्ने । कार्यकर्ता जाग्नुपर्छ, प्रश्न गर्नुपर्छ, सोच्नुपर्छ । पालिका, प्रदेश र देशको भविष्य सोच्ने हो भने नेताको अनुहार होइन, नीतिको आधारमा निर्णय लिनुपर्छ । अब नेतृत्वमा विवेक चाहिन्छ, केवल भीड होइन । अब राजनीति पार्टीको झोला बोकेर होइन, विचारको झोला बोकेर गरिनुपर्छ । जनता विकास खोजिरहेका छन्, नारा होइन । अबको पुस्ता कालु पाण्डे बन्नुपर्छ, विराज बखेती होइन । अबको नेतृत्व चर्चिल र पेलोसीले जस्तै सौहाद्र्ध बहिर्गमन गर्न सक्नुपर्छ र कार्यकर्ता भनेको विवेकशील नागरिक हो, अन्धसमर्थक झोले होइन । अब समय आइसकेको छ राजनीति बदल्ने, सोच बदल्ने र नयाँ युगको निर्माण गर्ने । अस्तु ।।