हेटौँडा : मकवानपुर फर्निचर व्यवसायी संघको अध्यक्षमा हरिकुमार शर्मा निर्वाचित हुनुभएको छ । शनिबार भएको १९औं वार्षिक साधारणसभाबाट ३८ मतसहित शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षका अर्का आकांक्षी भरत ढकालले १९ मत पाउँदै गर्नुहुँदा हरि ढकालले शून्य मत पाउनुभयो ।
यस्तै सचिवमा देवेन्द्र न्यौपाने ५० मतसहित निर्वाचित हुनुहुँदा अर्का आकांक्षी यज्ञ बहादुर आचार्य ७ मतसहित पराजित हुनुभयो । अध्यक्ष र सचिव बाहेकका पद सर्वसम्मत निर्वाचित भएका थिए । संघको उपाध्यक्षमा कृष्णप्रसाद न्यौपाने, कोषाध्यक्ष अर्जुन श्रेष्ठ निर्वाचित हुनुहुँदा सदस्यमा दिनेश तामाङ, सुवोध थापा, रामपुकार ठाकुर, सुब्बा घलान र अनिता ठाकुर निर्वाचित हुनुभएको छ । निर्वाचन कार्यक्रममा निर्वाचन मुख्य निर्वाचन अधिकृत अधिवक्ता सुवास अधिकारी रहनुभएको थियो भने निर्वाचन अधिकृतको रुपमा निरञ्जन सिग्देल रहनुभएको थियो ।
निर्वाचनअघि संघका अध्यक्ष कृष्ण अर्यालको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद सिंह रानाभाट, फर्निचर तथा फर्निसिङ व्यवसायी संघको बागमती प्रदेश समितिका अध्यक्ष सुपेन्द्र जोशी, केन्द्रीय उपाध्यक्ष गोकुल श्रेष्ठ, पूर्वअध्यक्ष रामप्रसाद न्यौपानेको पनि आतिथ्य रहेको थियो ।











