अभिभावक भेलाको अवसरमा शिक्षकलाई सम्मान गरिँदै ।

हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनमा रहको महेन्द्र माध्यमिक विद्यालयको ६३ औँ अभिभावक भेला सम्पन्न भएको छ । शुक्रबार बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको विद्यालयका प्रधानध्यापक देवकी सिग्देलले जानकारी दिनुभयो ।

अभिभावक भेलाको अवसरमा विद्यालयको गत वर्षको प्रगति प्रतिवेदन पेस गरिएको थियो भने यस वर्ष गरिने कार्यको पनि प्रतिवेदन पेश गरिएको थियो । भेलाको अवसरमा विद्यालयको युट्युव च्यानलबाट विद्यालय गान सार्वजनिक गरिएको उहाँले जानकारी दिनुभयो । प्रतिवेदनमा शैक्षिक क्षेत्रको सुधार गर्ने, विद्यार्थीलाई नियमित कक्षामा उपस्थित गराउने वातावरण सिर्जना गर्ने, बैठकमा अभिभावक उपस्थितिको सङ्ख्या बढाउने, गत असोज १२ गते गएको पहिरोले पुरिएको भवनको माटो हटाउन पहल गर्ने, बाल उद्यानको कक्षामा छानो हाल्न पहल गर्ने लगायतका विषय समावेश गरिएको छ ।

अभिभावक भेलाको अवसरमा विद्यालय परिसरमा विद्यार्थीहरुले खानाको स्टल, शैक्षिक सामग्री, साँस्कृतिक कार्यक्रम समेत भएको थियो । विद्यार्थीले सञ्चालन गरेको खानाको स्टलबाट भएको फाइदाबाट विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने विद्यार्थीको योजना रहेको प्रधानाध्यापक सिग्देलले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम गौतमको अध्यक्षतामा भएको अभिभावक भेलामा बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीको विशिष्ट आतिथ्य रहेको थियो । यस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु, शिक्षक अभिभावक संघका अध्यक्षको पनि उपस्थिति रहेको थियो । भेलामा कक्षा ३, ५, ८ र १२ मा उकृष्ट पठनपाठन गराई राम्रो नतिजा ल्याउने १५ जना शिक्षकलाई सम्मान गरिएको थियो । उत्कृष्ट अभिभावक नानीमैया थोकर, ८ जना विद्यार्थी र कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।