Home मुख्य समाचार विश्व रक्तदाता दिवसमा हेटौँडामा रक्तदातालाई सम्मान

विश्व रक्तदाता दिवसमा हेटौँडामा रक्तदातालाई सम्मान

चालु आर्थिक वर्षमा रक्तदान कार्यक्रमको आयोजना गरी सबैभन्दा बढी रगत संकलन गर्ने हेटौँडा अटोमोवाइल्स एसोसिएसनलाई सम्मान गरिँदै ।

हेटौँडा : बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयले २१औं विश्व रक्तदाता दिवसको अवसरमा रक्तदातालाई सम्मान गरेको छ । शनिबार बिहान हेटौँडा–१०, बुद्धचोकमा एक समारोहका बीच बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले उत्कृष्ट रक्तदाताको रुपमा हेटौँडा–४ की मौसमी श्रेष्ठ र अनिल खड्गेलाई सम्मान गरेको छ । यस्तै दूर्लभ रक्तसमूहका रक्तदाता हेटौँडा–५ का लालकिरण ढुंगेललाई पनि सम्मान गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी मकवानपुरसँगको सहकार्यमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षमा रक्तदान कार्यक्रम आयोजना गर्ने ९० वटा संघ, संस्थालाई पनि प्रशंसा पत्र प्रदान गरिएको छ । चालु आर्थिक वर्षमा सबैभन्दा बढी रक्तदान गर्ने हेटौँडा अटोमोवाइल एसोसिएसन (१०२ जना), आन्तरिक राजश्व कार्यालय हेटौँडा (५३ जना) र अनेरास्ववियु मकवानपुर बहुमुखी क्याम्पस इकाई (५१ जना) लाई सम्मान समेत गरेको छ ।

जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारको अध्यक्षतामा रक्तदान कार्यक्रम समेत भएको थियो । ३२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्रमुख टंक दाहालले जानकारी दिनुभयो । अहिले मकवानपुरमा रगतको माग र संकलनको कार्य सन्तुलित रहेको जानकारी गराउनुहुँदै अब रगतको माग बढ्ने समय आएको बताउनुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरकी मन्त्री सुमित्रा काफ्ले, स्वयंसेवी रक्तदाता समाज मकवानपुरका अध्यक्ष पूर्णप्रसाद अर्यालको पनि आतिथ्य रहेको थियो ।

२१औं विश्व रक्तदाता दिवसको अवसरमा शनिबार बिहान हेटौँडामा रक्तदान गर्दै रक्तदाता ।
Exit mobile version