प्रदेशसभा बैठकमा आर्थिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुहुँदै आर्थिक ममिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले ।

हेटौँडा : बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक सर्वेक्षण पेश गरिएको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रदेशसभाको बैठकमा प्रदेशको समग्र आर्थिक स्थितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । उहाँले प्रस्तुत गर्नुभएको आर्थिक सर्वेक्षण अनुसार चालू आर्थिक वर्षमा बागमती प्रदेशको कुल गार्हस्थ उत्पादन २२ खर्ब ३० अर्ब रुपैयाँ रहने प्रारम्भिक अनुमान गरिएको छ ।

मन्त्री काफ्लेका अनुसार प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा २२ खर्ब ३० अर्ब रहने अनुमान गरिएको छ भने प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ उत्पादनमा ३६.५२ प्रतिशत योगदान पु¥याउने संशोधित अनुमान रहेको छ । चालू आर्थिक वर्षमा पनि प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादनमा प्रदेश अगाडि रहने प्रारम्भिक अनुमान गरिएको छ । बागमती प्रदेशका नागरिकको प्रतिव्यक्ति आय २ हजार ६ सय २ अमेरिकी डलर रहेको छ । सर्वेक्षण अनुसार चालु आर्थिक वर्षमा प्रदेशको आर्थिक वृद्धिदर ५.१८ प्रतिशत रहने अनुमान गरिएको छ ।

प्रदेश सरकारको चालु आर्थिक वर्षको फागुनसम्मको खर्च २५.६२ प्रतिशत पुगेको छ । चालु तर्फ ३५.२२ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ १९.९४ प्रतिशत मात्र खर्च गरिएको छ । सोही अवधिमा सरकारको कुल आय ४४ अर्ब ५६ करोड ५३ लाख रुपैयाँ रहेको छ । आर्थिक सर्वेक्षण अनुसार सवारी साधन करबाट प्रदेश सरकारले १२ अर्ब ५० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा फागुनसम्म ७ अर्ब २२ करोड रुपैयाँ संकलन भइसकेको छ । नेपाल राष्ट्र बैंकले सुरु गरेको प्रदेशगत मुद्रास्फीति प्रकाशन अनुसार, फागुन महिनामा बागमती प्रदेशको मुद्रास्फीति दर २.९८ प्रतिशत रहेको छ ।

सर्वेक्षण अनुुसार प्रदेशका ९९.९७ प्रतिशत जनसंख्या विद्युत पहुँचमा पुगेको छ । राष्ट्रियस्तरमा ३ हजार ५ सय १२ मेगावाट विद्युत उत्पादन भएकोमा १ हजार ५ सय ८८ मेगावाट (४५.२ प्रतिशत) बागमती प्रदेशबाट भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । प्रदेशका ९२.३५ प्रतिशत घरधुरीमा आधारभूत खानेपानी सुविधा पुगेको छ भने प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत रहेको छ । कुल गार्हस्थ उत्पादनमा बागमती प्रदेशको हिस्सा ३६.५२ प्रतिशत रहेको छ । जसमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी ७७.०७ प्रतिशत, कृषि क्षेत्रको योगदान ११.८० प्रतिशत र उद्योग क्षेत्रको ११.१३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । उत्पादनमूलक उद्योगमा बागमतीको योगदान ३१.७ प्रतिशत रहेको छ भने राष्ट्रिय कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७.१२ प्रतिशत रहेको छ ।

प्रदेशको ४४.५२ प्रतिशत जनसंख्या (२७ लाख २३ हजार) कृषि पेशामा आबद्ध रहेको छ । फागुनसम्म ३ लाख ५२ हजार हेक्टरमा खाद्यान्न, २९ हजार हेक्टरमा तेलहन, र ३१ हजार हेक्टरमा तरकारी बाली लगाइएको छ । सहुलियत ऋण कार्यक्रम अन्तर्गत ३ अर्ब ३० करोड रुपैयाँ लगानी भएकोमा १ अर्ब ८१ करोड रुपैयाँ फिर्ता भएको छ । बागमती प्रदेशमा नेपालका कुल वन क्षेत्रको १७.०५ प्रतिशत हिस्सा रहेको छ । देशभरका कुल बैंक तथा वित्तीय संस्थाका ११ हजार ५ सय ४३ शाखा मध्ये २६ प्रतिशत (३ हजार ४१ शाखा) बागमतीमा छन् । बागमती प्रदेशको वित्तीय साक्षरता दर ६४.५ प्रतिशत पुगेको छ ।

बीमाका कुल २ हजार ९ सय ९२ शाखा मध्ये बागमती प्रदेशमा ८ सय ४० शाखा छन् । बागमतीमा रहेका ३ हजार २ सय २९ वटा सहकारी संस्थाहरु मध्ये काठमाडौं जिल्लामा १ हजार ६ सय ६२ वटा छन् । फागुनसम्म बागमती प्रदेशमा ९१ हजार ८४९ जना बेरोजगार सुचिकृत छन् । जसमध्ये ६८ हजार ७ सय ७१ जना प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत न्यूनतम रोजगारीमा सहभागी भएका छन् । नेपाल श्रमशक्ति सर्वेक्षण अनुसार देशको बेरोजगारी दर ११.४ प्रतिशत भए पनि बागमती प्रदेशमा यसको उल्लेख ७ प्रतिशत रहेको छ । नेपाल जीवनस्तर सर्वेक्षण अनुसार, बागमती प्रदेशमा गरिबीको रेखामुनि बस्ने जनसंख्या १२.५९ प्रतिशत, बहुआयामिक गरिबी ७ प्रतिशत, गरिबीको गहनता ०.८९ प्रतिशत र फैलावट १२.६८ प्रतिशत रहेको छ ।