हेटौँडा : काभ्रेपलाञ्चोक र चितवन जिल्लामा एक–एक जना मानिस मृत फेला परेका छन् । काभ्रेको बनेपा नगरपालिकामा एक जना पुरुष र चितवनको भरतपुर महानगरपालिकामा एक जना महिला मृत फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको हो ।
बनेपा नगरपालिका–७ स्थित उग्रेश्वरघाट जाने बाटोमा नाम ठेगाना नखुलेको अन्दाजी ४० वर्षीय पुरुष बुधबार दिउँसो मृत फेला परेका हुन् । प्रहरीले घटनाको मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाएको छ । यस्तै, भरतपुर महानगरपालिका–२, आँटारीमा ५५ वर्षीया महिला घरको कोठाभित्र बुधबार मृत फेला परेकी छन् । मृत फेला पर्ने महिला भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
भारत उत्तर प्रदेश घर भई १२ वर्षदेखि भरतपुरको आँपटारीस्थित मोहननाथ अधिकारीको टहरामा बस्दै आएका राजेश शर्माको श्रीमती उर्मिला शर्मा मृत फेला परेकी हुन् । घटनाको अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।











