आक्रमणबाट छाइते व्यवसायी ।

हेटौँडा : हेटौँडा बजारमा व्यवसायीमाथि सांघातिक आक्रमण भएको घटनामा संलग्न भएको आशंकामा मकवानपुर प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्काकाअनुसार घटनामा संलग्न भएको आशंकामा ९ जनालाई हेटौँडा बजारका विभिन्न स्थानबाट नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

बिहीबार दिउँसो ३ बजेको समयमा हेटौँडा–१०, राप्तीरोडस्थित दास इम्पोरियमका सञ्चालक ६५ वर्षीय विन्दल दासमाथि सांघातिक आक्रमण भएको थियो । बिहीबार दिउँसो करिब ३ बजेको समयमा ३ वटा मोटरसाइकलमा आएका ६ जना युवाको समूहले दासमाथि सांघातिक आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणबाट दासको दाउकोमा चोट लागेको छ । स्थानीय व्यवसायीले दासलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याएका थिए । दासको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

व्यवसायीमाथि आक्रमणको घटनाको निन्दा गर्दै मकवानपुर उद्योग वाणिज्य संघले दोषीलाई कडा कारवाहीको माग गरेको छ । बिहीबार साँझ संघले जारी गरेको एक प्रेस विज्ञप्ति जारी भनिएको छ, ‘आक्रमणकारीहरुलाई कानुनको दायरामा ल्याई व्यवसायी तथा आम सर्वसाधारणमा फैलिएको त्रास निराकरण गर्दै दोषी उपर कडा कारवाहीका लागि सुरक्षा निकायहरु समक्ष जोडदार माग गर्दछौं ।’