हेटौँडा–१, राप्तीरोडमा बन्द अवस्थाका सुन पसल ।

हेटौँडा : सुनमा विलासिता कर लागू गर्न लागेको विरोधमा देशभरका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । आन्दोलनको कार्यक्रमअन्तर्गत सुनचाँदी व्यवसायीले पसल बन्द गरेका छन् । व्यवसायीले आज बिहीबार र भोलि शुक्रबार २ दिन पसल बन्द गर्ने जनाएका छन् । बुधबार पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमबारे जानकारी गराएको थियो ।

व्यवसायीले पसल बन्द गरेर आफ्ना मागहरुको व्यानर पसल पसलमा टाँगेका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को वजेट वक्तव्यमा संघीय सरकारले सुनमा २ प्रतिशत विलासिता कर लागू हुने घोषणासँगै व्यवसायी आन्दोलित भएका हुन् । मकवानपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवनकुमार शाक्यले सुनको मूल्यवृद्धि भएर कारोबार नै ठप्प भइरहेका बेला सरकारले विलासिता कर थपिदिएर उपभोक्तालाई थप मारमा पारेको बताउनुभएको छ । सुन विलासिताको वस्तु नभई आवश्यकताको वस्तु भएको उल्लेख गर्नुहुँदै अध्यक्ष शाक्यले भन्नुभयो, ‘व्यवसायीमाथि कर लगाएको जस्तो देखिए पनि यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने हो । सुनको मूल्य वृद्धि भएर उपभोक्ता मारमा परेका बेला थप करको व्यवस्था व्यवहारिक छैन ।’ कर बढेसँगै व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

यस्तै सरकारले हीरा पत्थरमा १३ प्रतिशत भ्याट लागू गरेको विषयमा पनि व्यवसायीले विरोध जनाएका छन् । व्यवसायीले भन्सार कर पनि ६ प्रतिशतमा सीमित गर्न माग गरेका छन् । हाल सरकारले भन्सार कर १० प्रतिशत असुल्दै आएको छ । सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको कारोबारमा सरकारको स्पष्ट नीतिको पनि माग गरेका छन् । सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएर आन्दोलन सुरु गरेका थिए ।