हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाले कक्षा ४ र ५ को स्थानीय पाठ्यक्रम ‘हाम्रो कैलाश’को विषयमा सरोकारवालासँग छलफल तथा सुझाव संकलन गर्नुका साथै गाउँ शिक्षा योजना मस्यौदाको कार्यशाला गोष्ठी आयोजना गरेको छ । सोमबार गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका पूर्व सहसचिव कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा पूर्व सहसचिव घिमिरेले विद्यालयका प्रधानाध्यापकहरु पनि एउटा पाठ्यक्रम भएको बताउनुभयो । प्रधानाध्यापकले नेतृत्वदायी भूमिका निभाउनुपर्ने उहाँले जोड दिनुभयो । आफ्नो गाउँपालिकाको विषयवस्तु र अवस्थाबारे थाहा पाउनका लागि जुन पाठ्यपुस्तक बनाएर विद्यार्थीहरुको ज्ञान, क्षमता अभिवृद्धिको प्रयास भएकोप्रति गाउँपालिकालाई धन्यवाद दिनुहुँदै बालबालिकाले आफ्नो पालिकाभित्रका भाषा, धर्म, संस्कृति, पर्व लगायत धार्मिक तथा पर्यटन क्षेत्रको बारे ज्ञान लिन सक्ने बताउनुभयो ।
कार्यक्रममा पाठ्यपुस्तकका लेखक एवम् पाठ्यक्रम विकास केन्द्रका निर्देशक दीनानाथ गौतमले कक्षा ४ र ५ को पुस्तकमा समेटिएका विषयवस्तुबारे प्रस्तुत गर्नुभएको थियो । कक्षा ४ को पुस्तकमा कैलाश गाउँपालिकाको पृष्ठभूमि, गाउँपालिकाभित्रका कला संस्कृति, चाडपर्व, जातजातीय संस्कार, प्राकृतिक वन र वातावरण, वन्यजन्तु, जीवजनावर, वनस्पति, जडिबुटी, कृषि, मसलाबाली अन्नबाली, नगदेबाली, पशुपालन, धार्मिक तथा पर्यटकीय स्थलको परिचय, कैलाशमा उत्पादनमूलक घरेलु उद्योगका विषयवस्तु समेटिएको लेखक गौतमले बताउनुभयो । यस्तै कक्षा ५ मा पनि सोही विषयवस्तु समेट्दै स्थानीयस्तरमा पाइने वन्यजन्तुहरुको नाम र संरक्षण, अन्नबाली अन्तरगत मकै, गहुँ, कोदो खेती लगाउने तरिका, गाई, बाख्रा पालनको तरिकाका साथै कृषि क्षेत्र र सहकारीको विषयवस्तु पनि समेटिएको उहाँले बताउनुभयो ।
गाउँ शिक्षा योजना मस्यौदाको विषयमा विज्ञ तोयाप्रसाद अम्मैले गाउँ शिक्षा निर्माणको आवश्यकता, औचित्य र प्रक्रियाबारे आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । शिक्षा क्षेत्रको मुख्य समस्या तथा चुनौतिहरुको विश्लेषण गर्दै पालिकाको सबै अवस्थाका बालबालिकाहरुको पोषण स्याहार मनोरञ्जन सहितको प्रारम्भिक बाल शिक्षा, निशुल्क तथा अनिवार्य आधारभूत शिक्षा, शिक्षामा समतामूलक पहुँच पु¥याउने उद्देश्य रहनुपर्ने जनाउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मल्लले स्थानीय पाठ्यक्रमले समग्र कैलाशलाई पढ्न सकिने बताउनुभयो । कक्षा ६, ७ र ८ का पुस्तक यही शैक्षिक सत्रदेखि विद्यालय पुगिसकेको र अब ४ र ५ कक्षाको तयार हुने उहाँले जानकारी दिनुभयो । कैलाशको शैक्षिकस्तर वृद्धि गर्नु पर्ने र सोही अनुरुप पालिकाले शिक्षा क्षेत्रमा काम गर्दै आइरहेको उपाध्यक्ष मल्लले बताउनुभयो ।
कार्यदलले तयार पारेको शिक्षा योजनामा सुझाव दिन उहाँले सबैलाई आग्रह गर्नुभएको छ । सबैको सुझाव पश्चात मात्रै गाउँ शिक्षा योजनालाई सार्थकता दिईने उहाँको भनाइ छ । कार्यक्रममा गाउँ शिक्षा योजना मस्यौदा कार्यदलका संयोजक एवम् सामाजिक विकास समितिका संयोजक वडा २ का वडाध्यक्ष राजेन्द्र घिसिङ, गाउँ शिक्षा समितिका सदस्य निर्मला सिन्तान, भवानी माविका प्रधानाध्यापक बालचन्द्र मल्ल लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रममा वडाध्यक्षहरु तेजबहादुर ब्लोन, देवलाल बल, उदासकुमार भोलन, आशिष प्रजा, भूवन सिं घलान, शिक्षा शाखा प्रमुख समीर जोशी, कैलाश गाउँपालिकाका सामूदायिक विद्यालयका प्रधानाध्यापकहरु, बाल क्लब सञ्जालका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।











