हेटौँडा : श्रम सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा मंगलबार हेटौंडामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको आयोजनामा भएको मर्यादित श्रम, उत्पादकत्व बृद्धिका लागि श्रमिक शिक्षा कार्यक्रममा सहभागी सरोकारवालाले कानूनको कार्यान्वयनले मात्र श्रमिकको अधिकार स्थापित हुन सक्ने बताएका हुन् ।
कार्यक्रममा सहभागीहरुले श्रम सम्बन्धी कानून कार्यान्वयनले मात्र श्रमिक र रोजगारदाता बीच सुमधुर सम्बन्ध स्थापित गराउन सक्ने र उत्पादकत्व वृद्धि भई देशले समृद्धि हासिल गर्न सक्ने बताएका छन् । सहभागीहरुले राज्यले श्रमिकको सुरक्षामा ध्यान दिनुपर्ने, श्रमिकको समस्या समाधान गर्ने गरी स्थानीय तहमै डेस्क स्थापना हुनुपर्ने, न्युनतम पारिश्रमिक कार्यान्वयन हुनुपर्ने, सबै श्रमिकको सुरक्षाको ग्यारेन्टी रोजगारदाताले गर्नुपर्ने बताएका थिए । श्रम ऐन पूर्णरुपमा कार्यान्वयन नहुँदा श्रमिकहरु समस्यामा काम गर्न बाध्य रहेको उनिहरुको भनाई थियो । उनिहरुले श्रम ऐन कार्यान्वयनमा ट्रेड युनियनले भूमिका खेल्न सक्ने भए पनि ट्रेड युनियनहरुले काम नगरेको गुनासो गरे ।
कार्यक्रममा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका चक्रबहादुर श्रेष्ठले प्रस्तुतीकरण गर्नुहुँदै श्रम शिक्षा, श्रमिक र रोजगारदाता, आन्तरिक रोजगारी सम्बन्धी जानकारी गराउनुभएको थियो । उहाँले असल श्रम अभ्यास, मर्यादित श्रम, व्यवसायजन्य सुरक्षा, प्रविधिको प्रयोग लगायत विषयमा जानकारी गराउनुभयो । उहाँले मर्यादित श्रम र उत्पादकत्व वृद्धिका लागि व्यवस्थापकीय पक्षमा ध्यान दिनुपर्ने साथै प्रविधि सम्बन्धी सीपको विकास गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रस्तुतीकरण गर्नुहुँदै विभागका कारखाना निरीक्षक सागर अर्यालले श्रम सम्बन्धी कानून कार्यान्वयन तथा विद्यमान समस्या समाधानका लागि कानून सम्बन्धी ज्ञान जरुरी रहेको बताउनुभयो । मौलिक हकको व्यवस्था, न्यनूतम पारिश्रमिक, सामाजिक सुरक्षा कोषको बारेमा प्रष्ट पार्दै उहाँले श्रम ऐन र नियमावलीका बारेमा समेत जानकारी गराउनुभएको थियो । उहाँले ऐन नियममा आउने कतिपय समय सापेक्ष परिवर्तनका कारण पनि श्रमिक र रोजगारदाताबीच द्वन्द्व हुने गरेको भन्दै कानून सम्बन्धी जानकारी हुन जरुरी रहेको बताउनुभयो । अहिले पनि अनौपचारिक क्षेत्रमा सीमित श्रमिकहरुको मात्र पहुँच रहेको भन्दै विशेषगरी साना उद्योगहरुमा श्रम ऐन कार्यान्वयन गर्न समस्या रहेको बताउनुभयो । उहाँले जम्मा ११ वटा श्रम कार्यालयले ७७ वटा जिल्लामा काम गर्नु परेको भन्दै साधन, स्रोतको अभावमा पनि श्रम कार्यालयहरुले ऐन कार्यान्वयनमा प्रभावकारी काम गर्न नसकेको बताउनुभयो ।
श्रम कार्यालय हेटौँडाका प्रमुख रुद्रनारायण साहको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न ट्रेड युनियनका प्रमुख एवम् प्रतिनिधि, उद्योग वाणिज्य संघमा आबद्ध व्यवसायी तथा उद्योग सञ्चालक, रोजगारदाता, श्रमिक, कर्मचारीलगायतको सहभागिता थियो । मर्यादित र व्यवस्थित व्यवसाय सञ्चालनको वातावरण निमार्णसँगै रोजगारदाता, व्यवसायी र श्रमिकले ध्यान दिनुपर्ने विषयका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको श्रम कार्यालय हेटौँडाका सूचना अधिकारी उपेन्द्रनाथ पोखरेलले जानकारी दिनुभयो ।











