पत्रकार सम्मेलनमार्फत आफ्ना कुरा राख्नुहुँदै मकवानपुर सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवनकुमार शाक्य ।

हेटौँडा : सुनमा विलासिता कर लागू गरेको विरोधमा देशभरका सुनचाँदी व्यवसायी आन्दोलित भएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को वजेट वक्तव्यमा संघीय सरकारले सुनमा २ प्रतिशत विलासिता कर लागू हुने घोषणासँगै व्यवसायी आन्दोलित भएका हुन् । बुधबार देशभर व्यवसायीले पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम बारे जानकारी गराएका छन् ।

मकवानपुर सुनचाँदी व्यवसायी संघले हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा संघका अध्यक्ष पवनकुमार शाक्यले सुनको मूल्यवृद्धि भएर कारोबार नै ठप्प भइरहेका बेला सरकारले विलासिता कर थपिदिएर उपभोक्तालाई थप मारमा पारेको बताउनुभयो । सुन विलासिताको वस्तु नभई आवश्यकताको वस्तु भएको उल्लेख गर्नुहुँदै अध्यक्ष शाक्यले भन्नुभयो, ‘व्यवसायीमाथि कर लगाएको जस्तो देखिए पनि यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने हो । सुनको मूल्य वृद्धि भएर उपभोक्ता मारमा परेका बेला थप करको व्यवस्था व्यवहारिक छैन ।’ कर बढेसँगै व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

यस्तै सरकारले हीरा पत्थरमा १३ प्रतिशत भ्याट लागू गरेको विषयमा पनि व्यवसायीले विरोध जनाएका छन् । व्यवसायीले भन्सार कर पनि ६ प्रतिशतमा सीमित गर्न माग गरेका छन् । हाल सरकारले भन्सार कर १० प्रतिशत असुल्दै आएको छ । सुनचाँदी व्यवसायी महासंघले सुनचाँदीको कारोबारमा सरकारको स्पष्ट नीतिको पनि माग गरेका छन् । सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाएर आन्दोलन सुरु गरेका सुनचाँदी व्यवसायीले भोलि बिहीबार र पर्सी शुक्रबार आफ्नो व्यवसाय बन्द गरेर विरोध प्रदर्शन गर्ने जनाएको छ ।