स्थानीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोली सम्बन्धी अन्तरक्रियामा सम्बोधन गर्नुहुँदै कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान ।

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले विभिन्न रोगव्याधीका साथै प्राकृतिक विपद्को प्रतिकार्यमा गाउँपालिका तयारी अवस्थामा रहेको बताउनुभएको छ । विपत्ति बाजा बजाएर नआउने बताउनुहुँदै आवश्यक तयारीका साथ बस्नुपर्ने उहाँले बताउनुभयो । मंगलबार स्थानीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोली सम्बन्धी अन्तरक्रियाका साथै विपद् कन्टिन्जेन्सी योजना निर्माण कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष मुक्तानले मानिसमा लाग्ने विभिन्न रोग प्रकोपका विपद् सँगै पशुपन्छिमा लाग्ने रोगव्याध र विपद्मा ध्यान दिएको बताउनुभयो ।

विपद्का लागि आगामी नीति तथा कार्यक्रमका विभिन्न कार्यक्रम समेट्ने गरी स्थानीय द्रुत प्रतिकार्य समिति मार्फत आवश्यक समन्वय र सहकार्य गरिने उहाँले बताउनुभयो । ‘मौसम परिवर्तनको समय छ, मौसमी रोगहरुको प्रकोप फैलिन सक्छ, सबै स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहनुस्,’ अध्यक्ष मुक्तानले भन्नुभयो । उहाँले गाउँपालिकामा पर्याप्त औषधि रहेको, अपुग भएमा माथिल्लो निकायसँग समन्वय गरिने बताउनुभयो । त्यस्तै, गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले विपद्को अवस्थामा गाउँपालिका तयारी अवस्था रहने बताउनुभयो । रोगव्याध मात्रै नभई बाढी पहिरोको जोखिम रहने यस क्षेत्रमा उक्त विपद्को प्रतिकार्यमा पनि तयार रहनुपर्ने बताउनुभयो । ‘हामी पूर्व तयारीका साथ छौं, अपुग आवश्यक सामग्रीहरु खरिद गरेर तयारीमा रहन्छौं’, उपाध्यक्ष मल्लले भन्नुभयो । स्थानीय द्रुत प्रतिकार्य समिति र टोली तयारी अवस्थामा रहनुपर्छ ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रतिनिधि डा. सविता पौडेलले स्थानीय द्रुत प्रतिकार्य समिति र टोलीले गर्नुपर्ने निर्देशिका, विश्वमा घटेका विपद् तथा महामारीहरु, नेपालमा देखिएका ५२ वटा संक्रमण रोगहरु, सार्वजनिक महामारीका संकेतहरु, कैलाशमा जंगली च्याउको प्रयोग र त्यसबाट हुने असर, रोग निगरानी तथा महामारी व्यवस्थापनको तयारीका विषयमा आफ्नो कार्यपत्र प्रस्तुत गरेकी थिईन् । यसैगरी जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले आरआरटी र आरआरसीको बारे जानकारी गराउनुभएको थियो । उहाँले तीन तहको सरकारमा स्थानीय द्रुत प्रतिकार्य समिति र टोली बनेको अवस्थामा महामारीको प्रकृति अनुसार समिति र टोलीको निर्माण हुने बताउनुभयो । उहाँले समिति र टोलीको काम कर्तव्य र अधिकारबारे प्रष्ट पार्नुभयो ।

गाउँपालिकाका अध्यक्ष मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष बालकुमार मल्ल, १० वडा अध्यक्ष सूर्यबहादुर ब्लोन, डब्लुएचओका प्रतिनिधि डा. सविता पौडेल, जनस्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण यादव लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिकाको वडाका स्वास्थ्य चौकीका कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।