हेटौँडा : बारा जिल्लाको अमलेखगन्जबाट लागूऔषधसहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जीतपुर–सिमरा उपमहानगरपालिका–२१, अमलेखगंजबाट प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको हो ।
बिहीबार विहान ११ बजेर ४० मिनेटको समयमा ईलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरी टोलीले वीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको बी आर ०१ बी यु ३४८५ नम्बरको भारतीय कारलाई रोकेर सुरक्षाजाँच गर्दा लुकाई ल्याएको प्रतिबन्धित लागूऔषध ट्रमाडोल र ओनरेक्स वरामद भएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा कार चालक भारतको भैसाली ग्राम हुसेनाराके–१२ का २७ वर्षीय धिरज कुमार सिंह र भारतको मोतिहारी ग्राम कटगेनवा–२ का १८ वर्षीय चन्दन कुमार पटेल रहेका छन् । उनीहरुले कारको पछाडीको सिटमुनि, ढोकामा फल्स बटम बनाई ट्रमाडोल २ हजार १६० पत्ता र कारको ढोकाको पल्ला भित्र राखेर ७६ बोतल ओनेरेक्स ल्याएको प्रहरीको भनाई छ ।
