हेटौँडा : पाँचौ संस्करणको मेयर कप फुटबल प्रतियोगिता शनिबार हेटौँडामा सुरु भएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्रप्रसाद घिमिरेको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको हो ।
हेटौँडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सुरु भएको वडास्तरीय मेयर कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता ४ नम्बर वडा पराजित भएको छ । साविक विजेता हेटौँडा–४ हेटौँडा–११ सँग ३–० गोलअन्तरले पराजित भएको हो । हेटौँडा–११ का लागि मनोज घलान, पवन राई र सम्बन्ध डिम्डुङले एक/एक गोल गरे । पवन राई म्यान अफ द म्याच घोषित हुँदै नगद २ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताअन्तर्गत आज आइतबार हेटौँडा–३ र हेटौँडा–१३ बीच पहिलो खेल हुनेछ भने दोस्रो खेल हेटौँडा–९ र हेटौँडा–१६ बीच हुनेछ ।
प्रतियोगितामा हेटौँडाका १९ वटा वडाले सहभागिता जनाएका छन् । प्रतियोगिता जेठ १३ गतेसम्म संचालन हुनेछ । प्रतियोगिता विजेताले २ लाख ५० हजार रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन कार्यक्रममा वडाध्यक्षहरु, एन्फा केन्द्रीय समिति सदस्य तथा मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाको पनि आतिथ्य रहेको थियो ।
