Home मुख्य समाचार कुलेखानी–फाखेल–हुमाने सडकमा धमाधम कालोपत्रे हुँदै

कुलेखानी–फाखेल–हुमाने सडकमा धमाधम कालोपत्रे हुँदै

कुलेखानी–फाखेल–हुमाने सडकखण्ड कालोपत्रे गरिँदै ।

हेटौँडा : हेटौँडा–काठमाडौं जोड्ने सडकअन्तर्गत कुलेखानी–फाखेल–हुमाने सडकखण्ड असार अगावै सक्ने गरी कालोपत्रे गरिँदैछ । वर्षाको समयमा हेटौँडा–काठमाडौं सहज यात्राका लागि सो सडक अन्तर्गतको फाखेल–हुमाने खण्डमा शुक्रबारबाट कालोपत्रे थालिएको हो ।

सो सडक २० दिन बन्द गरेर धमाधम कालोपत्रे कार्य भइरहेको छ । जेठ २ गतेबाट २० गतेसम्म सो सडकमा सवारी आवतजावत रोकेर कालोपत्रे कार्य अघि बढाइएको हो । पूर्वाधार विकास कार्यालय मकवानपुर मार्फत् ठेक्का लागेर काम भइरहेको उक्त सडक खण्डको कालोपत्रे कार्य १५ दिनमा नै सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

सडक कालोपत्रेसहित विपद्बाट क्षति पुगेको स्थानको व्यवस्थापनको काम तीव्र गतिमा अघि बढाइएको पूर्वाधार विकास कार्यालय मकवानपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुजन भण्डारीले जानकारी दिनुभयो । हुमानेदेखि कंलकीसम्मको १२.६ किलोमिटर सडक कालोपत्रे कार्य भइरहेको उहाँको भनाई छ । सडकको ८.५० किलोमिटर खण्ड कालोपत्रे तथा ४ किलोमिटर खण्ड ढलान गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार गत २०८० वैशाख १७ मा ३५ करोड ४८ लाख ८८ हजार ९ सय १६ रुपैयाँमा सडक कालोपत्रेका लागि सम्झौता गरिएको थियो । हाल सो सडक खण्डको भौतिक प्रगति ८० प्रतिशत रहेको छ भने वित्तीय प्रगति ५५.४६ प्रतिशत रहेको उहाँले बताउनुभयो ।

गत असोजमा गएको विपद्मा बाढीका कारण बगाएको सडक खण्डको पुनः निर्माण कार्य अन्तर्गत क्षति पुगेको स्थानमा टेवा पर्खाल लगाउने, नाली निर्माण कार्य भइरहेको इन्जिनियर भण्डारीले बताउनुभयो । कल्भर्ट निर्माण कार्य सम्पन्न भइसकेको छ र सडकमा सबवेश हाल्ने कार्य अन्तिम चरणमा रहेको उहाँको भनाई छ ।

सडक कालोपत्रे गर्ने कार्यको अनुगमन गर्नुहुँदै मन्त्री मास्के ।

कालोपत्र निर्माण कार्यको अनुगमन गर्नुहुँदै बागमती प्रदेशका भौतिक तथा पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले वर्षाअघि नै सडक निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याउने बताउनुभयो । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ अन्तर्गत पर्ने कुलेखानी–हुमाने भञ्ज्याङ सडक खण्डमा भइरहेको कालोपत्रे कार्यको अनुगमन गर्नुहुँदै मन्त्री मास्केले सडक कालोपत्रे र मर्मतका लागि मन्त्रालयको कार्ययोजनासहित काम गरिरहेको र समयावधी भित्र नै निर्माण सकेर सवारी संचालनमा ल्याउने बताउनुभयो ।

सो कार्यका लागि मन्त्रालय र मातहतका निकाय निरन्तर रुपमा अनुगमन तथा निगरानीमा रहेको उहाँको भनाई छ । नागरिकको असुविधा र वर्षा तथा विपद्को पूर्व मुल्यांकनसहित मन्त्रालयले सडक निर्माणको काम छिट्टो सक्ने गरी निर्माण व्यवसायीलाई दवाव दिइरहेको उहाँले बताउनुभयो । सो सडक खण्डको विपद् प्रभावित क्षेत्रमा पनि सडक मर्मतको काम पनि जारी रहेको मन्त्री मास्केले बताउनुभयो ।

‘कुलेखानी–फाखेल–हुमाने सडक वर्षा अघि नै सो सडक कालोपत्रे गरेर यातायात संचालन गर्नेछौं । वर्षायाममा नागरिकले भोग्नुपरेको सास्तीलाई मध्यनजर गर्दै छिटो काम सक्ने गरी मन्त्रालयको टिम लागेको छ’, मन्त्री मास्केले भन्नुभयो , ‘निर्माण व्यवसायी, स्थानीय तह र सरेकारवालासँग हामी निरन्तर समन्वय गरेर २० दिनमा कालोपत्रे सक्ने र विपद्को अवस्था मूल्यांकनसहित पूर्वतयारी तथा जोखिम नियन्त्रणको काममा सक्रिय छौं ।’

Exit mobile version