हेटौँडा : मकवानपुरको अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले जेठ १० गते शनिबार हेटौँडामा संगम साहित्य उत्सवको आयोजना गर्दैछ । हेटौँडा उपमहानगरपालिकासँगको सहकार्यमा साहित्य संगम मकवानपुरले एक दिवसीय साहित्य उत्सवको आयोजना गर्न लागेको जनाएको छ । साहित्य संगमले शुक्रबार हेटौँडा–४ स्थित सिस्नुपानी–साहित्य संगमक मकवानपुरको संयुक्त भवनमा पत्रकार सम्मेलन गरेर साहित्य उत्सवको विषयमा जानकारी गराएको छ ।
साहित्य संगम मकवानपुरका सचिव मनोज पोखरेलले संगम साहित्य उत्सवको विषयमा जानकारी दिनुभयो । साहित्य उत्सवको अवसरमा ८ जना साहित्यकारलाई सम्मान गरिनुका साथै गजल, मुक्तक, कविता वाचनसँगै साहित्यका विषयमा समूह छलफल हुनेछ । संगम साहित्य उत्सवमा साहित्य संगम मकवानपुरले मकवानपुरका हास्यव्यंग्यकार राजकुमार लामिछानेलाई मकवानपुर साहित्य श्री सम्मान प्रदान गर्ने जनाएको छ । १५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित लामिछानेलाई सम्मान गरिनेछ । सुनसरी जिल्लाको इटहरीका साहित्यकार टीका आत्रेयलाई भेषनाथ अधिकारी स्मृति छन्द सम्मान प्रदान गरिने भएको छ । विनोद–सुनिता सुवेदी सम्मानबाट रामकुमार एलन सम्मानित हुनुहुनेछ । एलनलाई नगद ११ हजार १ सय ११ रुपैयाँ नगदसहित सम्मान गरिने सचिव पोखरेलले जानकारी दिनुभयो ।
१० हजार राशीको दीपक मुडभरी स्मृति सम्मान समीर पाख्रिनलाई प्रान गरिने भएको छ । मंगलादेवी स्मृति सम्मान बबी थापालाई प्रदान गरिनेछ । १० हजार राशीको सम्मान देवप्रसाद श्रेष्ठले स्थापना गर्नुभएको हो । १० हजार राशीको मुक्तितारा साहित्य सम्मान यश लामालाई प्रदान गरिने भएको छ । १० हजार राशीको रामहरि देवु सम्मान मसान उपासकलाई प्रदान गरिने भएको छ भने साहित्य संगम मकवानपुर कृति सम्मानबाट अभय श्रेष्ठको कृति ‘लहना र तीर’ ले प्राप्त गर्ने भएको छ । साहित्य संगम मकवानपुर कृति सम्मानको राशी २५ हजार एक रुपैयाँ रहेको छ । संगमलाई प्राप्त ५ वटा कृति मध्ये लहना र तीरलाई उत्कृष्ट कविताको रुपमा ‘लहना र तीर’ लाई सम्मान गन लागिएको सचिव पोखरेलले जानकारी दिनुभयो ।
