Home मुख्य समाचार बोरिङकै कारण जमिन भासिएको निश्कर्ष, भासिएर बेपत्ता भएको गाडी भेटिएन

बोरिङकै कारण जमिन भासिएको निश्कर्ष, भासिएर बेपत्ता भएको गाडी भेटिएन

भूगर्भविद्को टोलीले अनुसन्धान गर्दै ।

हेटौँडा:मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ स्थित गैरीगाउँमा बोरिङको कारण जमिन भासिएर बोलेरो गाडी धसिएको खानी तथा भूगर्भ विभागले निश्कर्ष निकालेको छ । घटनास्थलको प्रारम्भिक अध्ययनपछि खानी तथा भूगर्भ विभागले जमिनमुनिको कमजोर संरचना र गलत ढंगले गरिएको बोरिङलाई मुख्य कारणका रूपमा औँल्याएको हो ।

बाइस वर्षअघि नै खतरापूर्ण क्षेत्रको रूपमा चिनिएको गैरीगाउँमा लापरवाहीपूर्वक गरिएको बोरिङले अहिलेको समस्या निम्त्याएको विभागको निष्कर्ष छ । भूगर्भविद् कृष्ण पाण्डेले दिनुभएको जानकारीअनुसार जमिनमुनिको सिल्टयुक्त माटो बोरिङका क्रममा बाहिर निकालिँदा जमिन कमजोर भई सिंकहोल बनेको हो । विभागका भूगर्भविद् डा. नारायण अधिकारीको नेतृत्वमा गरिएको अध्ययन अनुसार, जमिन भासिएको ठाउँको केन्द्रमा कम्तीमा ११ मिटर गहिरो सिङ्कहोल देखिएको छ । अध्ययनले जमिनमुनिबाट निरन्तर सिल्ट मिश्रित पानी निस्किरहेकाले भविष्यमा जमिन अझै भासिने जोखिम रहेको चेतावनी दिएको छ । ‘कमजोर जमिनले माथिको लोड धान्न नसक्दा जमिन भासिएको हो,’ पाण्डेले भन्नुभयो ।

यसअघि खानी तथा भूगर्भ विभागले २०६२ सालमै तयार गरेको इन्जिनियरिङ तथा वातावरणीय भौगर्भिक नक्सामा पनि गैरीगाउँ क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्रको रूपमा चित्रित गरिएको अधिकारीले बताउनुभयो । विभागको पछिल्लो अध्ययनमा भूउपग्रह तस्बिर, पुराना प्रतिवेदन र वैज्ञानिक परीक्षणको आधारमा जमिन भासिएको पुष्टि गरेको उहाँले बताउनुभयो ।

बैशाख १९ गते हेटौँडा उपमहानगरपालिका वडा नम्बर १६ र १७ को सीमास्थित भित्री सडकखण्डमा रोकिराखेको अवस्थामा माछा बोक्ने ना ४ च ४८३३ नम्बरको सिंगल क्याप बोलेरो गाडी (भ्यान) एक्कासी जमिन भासिएर बेपत्ता भएको थियो । उक्त गाडी अहिलेसम्म फेला परेको छैन । गाडीको अगाडीपट्टीको पाङ्रग्रा धसिएपछि निकाल्ने क्रममा एक्कासी जमिन नै थर्किएर गाडी भासिएको थियो । गाडीका चालक हरेराम राई र सहचालक भने भागेर बच्न सफल भएका थिए ।

यसअघि खानी तथा भूगर्भ विभागबाट भूगर्भविद डा. नारायण अधिकारीको नेतृत्वमा आएको टोलीले दुई दिनसम्म गाडी भासिएको ठाउँको अध्ययन गरेका थिए । घटनास्थलको जमिन र त्यस वरपर अत्यधिक कमजोरी देखिएकाले थप अध्ययन तत्काल सम्भव नभएको भन्दै भूगर्वविद्हरुको टोली काठमाडौं फर्किएको थियो । २३ र २४ बैशाख दुई दिन भूगर्भविद् अधिकारी नेतृत्वको टोलीले भासिएको गाडी र घटनास्थल आसपासको माटोको बनावट, भूगर्भीय अवस्था, भूमिगत जल तथा चुम्बकीय क्षेत्रको परीक्षण गरेको थियो । भूगर्भविद्हरुको टोलीले गाडी भासिएको स्थानको भुबनोट निकै कमजोर र तरलतायुक्त रहेको निश्कर्ष निकालेका थिए ।

अध्ययनपछि भूगर्भविद् डा. अधिकारीको टोलीले उक्त क्षेत्रमा निर्माण कार्य गर्नु अघि भूगर्भीय परीक्षणको आवश्यकता देखाएको बताएका थिए । विशेषगरी माछा पोखरी, कुलो, सिँचाइ प्रणाली र बोरिङ जस्ता संरचनाहरुका कारण जमिन थप कमजोर हुने भएकाले भूगर्भको अध्ययन अनिवार्य रहेको उहाँको भनाई थियो । यसैबीच हेटौँडा उपमहानगरपालिकाले उक्त स्थानलाई सुरक्षित राखेको छ । थप कुनै जोखिम नहोस भन्ने उद्देश्यले उक्त क्षेत्रलाई हाल शिल गरिएको हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले जानकारी दिनुभयो । ‘गाडी निकाल्ने प्रयासपछि जोखिम देखिएकाले सो क्षेत्रलाई तत्काल सिलबन्दी गरिएको छ्,’ उहाँले भन्नुभयो, ‘घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ र जमिन थप भासिन नदिन सावधानी अपनाइएको छ ।’

Exit mobile version