यतिबेला चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र आगामी आर्थिक वर्षको बजेटको तयारी समानान्तर ढंगले चलिरहेको छ । वर्षा सुरु हुनुअघिको समयमालाई विशेषगरी विकास निर्माणका योजना कार्यान्वयन गर्ने समयको रुपमा लिइन्छ । चालु आर्थिक वर्षको १० महिना पूरा भएको छ । चालु आर्थिक वर्षको पहिलो १० महिना अवधि बितिसक्दा पनि संघीय, प्रादेशिक र पालिका सरकारका कामको उपलब्धी हेर्न सकिने अवस्था छैन । बरु विकास निर्माणका योजनामा सन्तोषजनक प्रगति हुन नसकेको, बेथिति मौलाएको, मिलेमतोमा कमसल काम भएको, काम नै नभएको जस्ता आरोप स्वभाविक जस्तै भएको छ । बजेट बनाउँदै गर्दा सरकारले प्रभावकारी कार्यान्वयनको दावी गरिरहेको हुन्छ । तर, चालु आर्थिक वर्षको उत्तरार्धमा आइपुग्दा के उपलब्धी हासिल भइरहेको छ त भन्ने यकिन हुने स्थिति छैन ।
अर्कोतर्फ अहिले बजेट निर्माणको चरणमा रहेको छ । संघीय सरकारले नीति तथा कार्यक्रम नै पारित गरेर आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम समयमा पुगेको हुनुपर्छ । प्रदेश सरकारहरु नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने तयारीमा छन् । संघ, प्रदेशपछि स्थानीय तहले आफ्नो बजेट तयारी गर्नेछ । बजेट निर्माणको प्रक्रियामा तीनै तहको सरकारले आफ्नो ज्ञान, सीप, दक्षता, विज्ञसँगको उचित परामर्श, लाभग्राही वर्गको प्रतिक्रिया, अपेक्षा र आवश्यकताअनुसार बजेट निर्माण हुनुपर्ने हो । जसले बजेट तथा कार्यक्रम कार्यान्वयनमा पनि सहयोग पुग्ने छ ।
बजेट निर्माणको प्रक्रियामा हेटौँडा उपमहानगरपालिकाको ४ नम्बर वडाले वडाभित्र रहेका टोल विकास संस्थाहरुमार्फत सल्लाह, सुझाव, अपेक्षा संकलन गरेको छ । अघिल्ला आर्थिक वर्ष र चालु आर्थिक वर्षका योजनाको समेत समीक्षा गर्दै अगामी आर्थिक वर्षका लागि योजना तय गर्ने गरी गरिएको समीक्षाले वडाका लागि आवश्यक योजना छनोट प्रभावकारी हुने विश्वास लिन सकिन्छ । साथै वडा र पालिका हुँदै प्रदेश र संघीय योजना निर्माणमा पनि सहयोग पुग्ने अवसर रहन्छ । तर, सबै वडा र पालिकामा आगामी आर्थिक वर्षका लागि योजना छनोटको विषयमा छलफल भएको देखिँदैन । वडा हुँदै पालिकाले समेत प्रभावकारी योजना छनोट हुने गरी नगरवासीलाई सहजीकरण गर्नुपर्छ । पालिका तहमा पनि आगामी आर्थिक वर्षको कार्यक्रम कसरी बनाउने भन्ने विषयमा तयारी भएको देखिन्न ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट भनिए पनि आजका कामले लामो समयको उपयोगितालाई ध्यान दिन सक्नुपर्छ । आगामी एक वर्षका लागि मात्रै नभएर कम्तिमा आगामी ५ वर्षदेखि १० वर्षको योजनाअनुसार नीति, कार्यक्रम र बजेट तयार गरिनुपर्छ । त्यसका लागि विज्ञसँगको परामर्श महत्वपूर्ण छ । विज्ञ समूहले तयार पारिएको खाकामा रहेर काम गर्नेतर्फ सबै जिम्मेवार हुने हो भने हाम्रा बजेटहरु प्रभावकारी हुने, कार्यान्वयन हुने निश्चित छ । तसर्थ तीनै तहका सरकारले बजेटलाई यथार्थपरक र कार्यान्वय गर्न सक्ने गरी तयार पार्नेतर्फ गम्भीर भएर ध्यान दिनु जरुरी छ ।











