लागूऔषधसहित पक्राउ परेकाहरु ।

हेटौँडा : मकवानपुर प्रहरीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरेका ६ जनामध्ये एकजना लागूऔषध कारोबारी समेत भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१३ बाट शनिबार दिउँसो २ बजेको समयमा २५ वर्षीय अजित दोङ र २१ वर्षीय विनय लामाको साथबाट २५ क्याप्सुल लागूऔषध ट्रामाडोलसहित पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुसँग सोधपुछ गर्ने क्रममा हेटौँडा–२, मानसचोकस्थित नेपाली चुलो होटलकी सञ्चालकसँग लागूऔषध ट्रामाडोल खरिद गरेर ल्याएको भनी बताएपछि प्रहरीले होटल सञ्चालक मकवानपुरको बागमती गाउँपालिका–४ की सरिता माझीसहित बागमती गाउँपालिका–४ कै २२ वर्षीय उदेश राई र हेटौँडा–९ का २९ वर्षीय मनिष तिमल्सिनाको साथबाट लागूऔषध ट्रामाडोल २ सय ६२ क्याप्सुल र ३० ग्राम लागूऔषध गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले पक्राउ परेका पाँचै जनालाई मकवानपुर जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई हिरासतमै राखेर अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तै प्रहरीले शुक्रबार साँझ साढे ५ बजेको समयमा हेटौँडा–१०, राप्तीरोडस्थित सडक डिभिजन कार्यालय अगाडिबाट लागूऔषध ट्रामाडोल २० ट्याब्लेटसहित हेटौँडा–११ का विनय लामालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको ना १३ प २१३६ नम्वरको मोटरसाईकलमा सवार लामालाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । लामालाई पनि ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न मकवानपुर जिल्ला अदालत अनुमति दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।