Home मुख्य समाचार मकवानपुर क्याम्पसले अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

मकवानपुर क्याम्पसले अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनबारे जानकारी गराउनुहुँदै क्याम्पस प्रमुख डा. यमबहादुर सिलवाल ।

हेटौँडा : हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पसले अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन गर्ने भएको छ । शनिबारदेखि ३ दिनसम्म सञ्चालन हुने सम्मेलनको विषयमा शुक्रबार क्याम्पस परिसरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । सम्मेलनमा देश–विदेशबाट एक सय भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।

केही प्रतिनिधि र केही विज्ञ भने अनलाईनमार्फत नै सहभागी हुने बताइएको छ । मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख डा. यमबहादुर सिलवालले ‘दीगो विकासका लक्ष्यको स्थानीयकरण ः युवाको क्षमता विकास’ भन्ने मूल आशयका साथ सम्मेलन हुने जानकारी दिनुभयो । सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले गर्नुहुनेछ । सम्मेलनमा विभिन्न प्राज्ञिक अध्ययन, अनुसन्धानको प्रस्तुती रहनेछ ।

सम्मेलनले स्थानीयस्तरमा दीगो विकासका लक्ष्यहरुलाई समायोजन गर्ने, युवा विद्यार्थीहरुको सक्षमता अभिवृद्धि गर्ने, दीगो विकासका लक्ष्य हासिल गर्न युवा विद्यार्थीको भूमिका बढाउने लक्ष्य लिइएको क्याम्पस प्रमुख सिलवालले जानकारी दिनुभयो । मकवानपुर बहुमुखी क्याम्पसले विश्वविद्यालय तहको शिक्षालाई व्यवहारिक र उपयोगी बनाउने प्रयास भइरहेको उल्लेख गर्नुहुँदै देश–विदेशका क्याम्पस तथा विश्वविद्यालयहरुसँग सहकार्य भइरहेको जानकारी गराउनुभयो । उद्घाटनको कार्यक्रम हेटौँडाको एभोकाडो होटलमा हुनेछ भने आइतबार र सोमबारको दुई दिने कार्यक्रम क्याम्पस परिसरमै हुने उहाँले जानकारी दिनुभयो ।

मकवानपुर क्याम्पसले यसअघि राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाका लागि विश्वविद्यालय अनुदान आयोग, हेटौँडा उपमहानगरपालिकासहित अन्य निकायसँग साझेदारी रहेको क्याम्पस प्रमुख सिलवालले जानकारी दिनुभयो ।

Exit mobile version