हेटौँडा : मकवानपुरको बकैया गाउँपालिका–३, हात्तिसुडेस्थित बुद्ध माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा ताराचन्द्र बजगाई (निशान) चयन हुनुभएको छ । सोमबार बजगाई दोस्रो कार्यकालका लागि सर्वसम्मत अध्यक्ष चयन हुनु भएको विद्यालयका प्रधानाध्यापक प्रेम बम्जनले जानकारी दिनुभयो ।
अभिभावकमध्येबाट सदस्यमा प्रेम घिसिङ, बुद्धलाल डिम्डुङ, सङ्गीता भोलन र सोममाया सिङ्तान चयन हुनु भएको थियो । मनोनित महिला सदस्यमा अभिभावक छायाँ अधिकारी, वडाप्रतिनिधिमा वडाअध्यक्ष भुमलसिंह घलान, शिक्षक प्रतिनिधि श्यामकुमार दाहाल र सदस्य सचिव प्रधानाध्यापक प्रेमबहादुर बोम्जन रहनु भएको छ ।
गत फागुन ५ गते बसेको अभिभावक भेलाबाट सहमति नभएपछि अध्यक्ष चयनका लागि छनोट समिति गठन गरिएको थियो । शिक्षा क्षेत्र सुधारका लागि चुनावमा नजान र विद्यालयमा राजनीतिक हस्तक्षेप नहोस भन्ने उद्देश्यले सोमबार बसेको राजनीतिक अगुवाहरुको बैठकले बजगाईलाई पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको उहाँले जानकारी दिनुभयो ।
प्रधानध्यापक बोम्जनका अनुसार अध्यक्ष बजगाई शिक्षा क्षेत्रमा क्रियाशील रहनु भएको छ । बजगाई नेपाली काँग्रेस जिल्ला कार्यसमितिको सह–सचिव समेत रहनुभएको छ । बकैया शिक्षा शाखा प्रमुख आइतराम तामाङ, बकैया–३ का वडाध्यक्ष भुमलसिंह घलान, पूर्व विव्यस अध्यक्ष पूर्व वडाध्यक्ष दिलबहादुर बोम्जन, पूर्व विव्यस सल्लाहकार गोपालप्रसाद दाहाल, भवनाथ तिमल्सिना, रामप्रसाद दाहाल, सुरेश लो, सोमलाल नेगी, अभिभावक, शिक्षक तथा कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।











