किशोर खेलाडीसँग अन्तरक्रिया गर्नुहुँदै अञ्जन विष्ट ।

हेटौँडा: नेपाली राष्ट्रिय फुटबल टिमका फरवार्ड अञ्जन विष्टले हेटौँडास्थित एन्फा एकेडेमीमा सहभागी किशोर खेलाडीसँग अन्तरक्रिया गर्नुभएको छ । सोमबार बिहान हेटौँडा–११ स्थित हेटौँडा एकेडेमी पुगेर विष्टले किशोर खेलाडीसँग अन्तरक्रिया गर्नुभएको हो । गृहजिल्ला आउनुभएको अवसरमा विष्टले एन्फा एकेडेमीका किशोर खेलाडीसँग अन्तक्रियामा खेलसँगै पढाईमा पनि ध्यान दिन र अनुशासित हुन आग्रह गर्नुभयो ।

हरेक क्षेत्रमा अनुशासनको महत्व रहने उल्लेख गर्नुहुँदै विष्टले खेलसँगसँगै पढाईमा पनि ध्यान दिन आग्रह गर्नुभएको हो । कडा परिश्रमले मात्रै सफलता मिल्ने बताउनुहुँदै विष्टले आफ्ना अभिभावक, शिक्षकले भनेका कुरालाई ध्यान दिएर बुझ्न, मनन् गर्न विष्टको आग्रह थियो । एन्फा एकेडेमीका किशोर खेलाडीसँग आफ्नो बाल्यकाल, फुटबल खेल्न सुरु गर्दाको अनुभव र आफ्ना दाइसँग प्रेरित भएर खेल्न थालेको विष्टले बताउनुभयो ।

कडा मिहिनेतकै कारण राष्ट्रिय टिममा भने दाइभन्दा अगाडि नै सहभागी हुन सफल भएको उहाँको भनाइ थियो । किशोर खेलाडीले भने दैनिकी, प्रेरक खेलाडी, व्यहोर्नुपरेका चुनौति, खेल बाहेकको रुचिको क्षेत्रका विषयमा प्रश्न सोधेका थिए । नयाँ पुस्ताका किशोर खेलाडीसँग अन्तरक्रिया गर्न पाउँदा खुसी लागेको अञ्जनको भनाइ थियो । अन्तरक्रियामा हेटोँडा एकेडेमीका अध्यक्ष अरुणराज सुमार्गी, उपाध्यक्ष अंकिता सुमार्गीसहित शिक्षकहरुको पनि सहभागिता रहेको थियो ।