२०८२ सालको कक्षा १२ को वार्षिक परीक्षा सुरु भएको छ । विगतमा कक्षा १० को अन्तिममा लिइने एसएलसी परीक्षालाई विद्यालय तहको अन्तिम परीक्षा मानिन्थ्यो । अहिले कक्षा १२ सम्म विद्यालय शिक्षा कायम भएपछि कक्षा १२ को अन्तिममा लिइने परीक्षालाई माध्यमिक शिक्षा उत्तीर्ण परीक्षासमेत भन्ने गरिएको छ । नेपालमा एसएलसी परीक्षाको सुरुवात भएको एक दशक पुग्न लागेको छ । विसं १९९० सालदेखि नेपालमै एसएलसी परीक्षा लिन थालिएको थियो । विगतमा कुनै समय एसएलसी उत्तीर्ण गर्नुलाई ठूलो सफलता मानिन्थ्यो । सीमित संख्यामा रहेका विद्यालय र जोकोहीको शिक्षामा पहुँच नपुग्ने भएकाले पढ्नु र एसएलसी पास गर्नु सामान्य कुरा थिएन । तर, अहिले जताततै विद्यालय र थुप्रै विश्वविद्यालयसमेत सञ्चालन भइरहेको अवस्थामा विद्यावारिधि गर्नु पनि सामान्यजस्तो भइसकेको छ । शिक्षामा ठूलो परिवर्तन भइसक्दा पनि विद्यालय तहको कक्षा १० र १२ को परीक्षालाई भने अनावश्यक महत्व दिएर हाउगुजी बनाउने गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत्को परीक्षा नियन्त्रण कार्यालयले देशभर एकैसाथ कक्षा १२ को परीक्षा सञ्चालन गरिरहेको छ । साधारण तथा प्राविधिक धारका नियमित तथा नयाँ पाठ्यक्रमको ग्रेडवृद्धि परीक्षा आइतबारबाट सुरु भएको हो । यो परीक्षा आगामी जेठ २ गते समाप्त हुनेछ । यस वर्ष कक्षा १२ को परीक्षामा ५ हजार २ सय २ विद्यालयका नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ परीक्षार्थीले परीक्षा आवेदन फारम भरेका थिए । नियमित परीक्षा दिन आवेदन फारम भर्नेमध्ये १ लाख ९८ हजार ८ सय ७५ छात्र, १ लाख ९७ हजार १३ छात्रा र २० जना अन्य छन् । यस्तै, ग्रेडवृद्धि (आंशिक)तर्फ १ लाख १५ हजार ६ सय १७ परीक्षार्थीले परीक्षा आवेदन फारम भरेका थिए । परीक्षामा काठमाडौं जिल्लाबाट मात्र ६८ हजार एक सय ३३ परीक्षार्थी सहभागी हुँदा मनाङ जिल्लाबाट ४५ जनामात्र सहभागी भएका छन् । परीक्षा सञ्चालनका लागि देशभर एक हजार ५ सय ९० र जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
मकवानपुर जिल्लामा पनि २१ वटा परीक्षा केन्द्रबाट विद्यार्थीहरुले कक्षा–१२ को वार्षिक परीक्षा दिइरहेका छन् । जिल्लाका विभिन्न विद्यालय तथा कलेजमा अध्ययन गर्ने ७ हजारभन्दा बढी परीक्षार्थी परीक्षामा सहभागी भएका छन् । यस वर्ष मकवानपुर जिल्लाबाट नियमिततर्फ ५ हजार २ सय ७३ र आंशिक (ग्रेडवृद्धि)तर्फ २ हजार ४५ गरी ७ हजार ३ सय १८ परीक्षार्थीले परीक्षा आवेदन फारम भरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । सातवटै प्रदेशमध्ये सबैभन्दा बढी बागमती प्रदेशका परीक्षार्थी रहेका छन् । बागमती प्रदेशभित्र एक लाख १६ हजार ३ सय १३ जना नियमित र १८ हजार ९ सय २७ आंशिक परीक्षार्थीले कक्षा १२ को परीक्षा दिन फारम भरेका छन् । बागमती प्रदेशका १३ जिल्लामा ४ सय वटा परीक्षा केन्द्र कायम गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको हेटौँडास्थित कार्यालयले हेर्ने मकवानपुरसहित चितवन, बारा, पर्सा र रौतहट जिल्लामा १ सय ५३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने ४७ हजार ७ सय ८३ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् ।
परीक्षा भन्नेवित्तिकै विद्यार्थीहरुलाई विभिन्न दबाब पर्ने गर्दछ । परीक्षा राम्रो बनाउने र उच्चस्तरको नतिजा हासिल गर्ने दबाबमा धेरै विद्यार्थी हुन्छन् । अझ विद्यार्थी जीवनकै महत्वपूर्ण र सर्वत्र चर्चामा आउने गरेको यस्ता परीक्षाप्रति अभिभावक तथा शिक्षकको चिन्ता पनि बढी नै हुन्छ । देशका शिक्षा प्रशासकमात्र नभएर राजनीतिक, सामाजिक व्यक्तित्वहरुका लागि यो परीक्षा र यसको नतिजाको विषयले धेरै चासो हुने गर्दछ । आफूले अध्ययन गरेको कक्षा वा तहमा राम्रो सिकाइ उपलब्धि हासिल गरेर उत्तीर्ण हुनुपर्ने स्वभाविक भए पनि कक्षा १० र १२ को परीक्षामा भने विद्यार्थीले उच्च ग्रेड ल्याउनैपर्ने दबाब झेल्नु परिरहेको छ । कक्षा १२ को परीक्षा उत्तीर्ण भएपछि विश्वविद्यालयको ढोका खुल्ने भए पनि यसको नतिजालाई बढी महत्व दिँदा कतिपय विद्यार्थीमा मनोवैज्ञानिक असर पुग्ने तथ्यलाई मनन गर्नु आवश्यक छ ।











