हेटौँडा : मकवानपुरका २ हजार २ सय ४ जना विपन्न विद्यार्थीले छात्रवृत्ति प्राप्त गर्ने भएका छन् । संघीय सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले बैशाख १५ गते छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको सूचि सार्वजनिक गरेको छ ।
विद्यालयले नै फारम भरेर वडाको सिफारिसमा विद्यार्थीले छात्रवृत्तिका लागि आवेदन दिने व्यवस्था थियो । विपन्नताको प्रमाणीकरण भने वडाले गर्नुपर्ने व्यवस्था थियो । शैक्षिक सत्र २०८१ मा सामुदायिक विद्यालयमा कक्षा–५ र कक्षा–८ मा अध्ययन गरेका विपन्न विद्यार्थीले शैक्षिक सत्र २०८२ मा कक्षा ६ र कक्षा ९ अध्ययन गर्ने क्रममा छात्रवृत्ति वापत जनही ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
छात्रवृत्ति पाउने मकवानपुरका १० वटै पालिकाका विद्यार्थी छन् । सबैभन्दा बढी मकवानपुरको मनहरी गाउँपालिकाका १९ वटा विद्यालयका ३ सय ४३ जना विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् । मकवानपुरगढीका १८ वटा विद्यालयका ३ सय ४१ जना, कैलाश गाउँपालिकाको १५ वटा विद्यालयका ३ सय १७ जना, थाहा नगरपालिकाका २० वटा विद्यालयका ३ सय २ जना विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् ।
यस्तै बागमती गाउँपालिकाको १७ वटा विद्यालयका २ सय ६२ जना विद्यार्थी, हेटौँडा उपमहानगरपालिकाका ९ वटा विद्यालयका २ सय २६ जना विद्यार्थी, भीमफेदी गाउँपालिकाका १६ वटा विद्यालयका १ सय ८२ जना विद्यार्थी, इन्द्रसरोवर गाउँपालिकाको १६ वटा विद्यालयका १ सय ३ जना, राक्सिराङ गाउँपालिकाको ४ वटा विद्यालयका ६४ जना र बकैया गाउँपालिकाका ५ विद्यालयका ६४ जना विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् ।
विद्यालयले नै आवेदन पेश गरिदिएर विपन्न विद्यार्थी नगद छात्रवृत्ति पाउने भए पनि कतिपय विद्यालयले फारम नै नभरिदिएका कारण विद्यार्थीले छात्रवृत्ति सुविधाको लाभ लिन नपाएको गोरक्षनाथ माविका शिक्षक होम बहादुर नेपालीको भनाइ छ । विपन्न विद्यार्थीका लागि छात्रवृत्ति प्राप्त गर्न आवेदन दिने प्रक्रियाका बारेमा शिक्षकहरुलाई अभिमुखीकरण समेत गराइएका पनि उल्लेख्य संख्यामा विद्यालयले आवेदन नदिएको देखिएको उहाँको भनाइ छ । अभिुमखीकरण नै गराउँदा पनि शिक्षकको सहजीकरणको अभावमा विद्यार्थीले लाभ लिन नपाएको भन्दै उहाँले दुख व्यक्त गर्नुभयो ।
