हेटौँडा : लागूऔषध गाँजासहित बारा प्रहरीले मकवानपुरका ३ जना र बारा जिल्लाका १ जनालाई पक्राउ गरेको छ । शनिबार बिहान २ बजेको समयमा विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी निरीक्षक कुसुम नायकको कमाण्डमा खटिएको प्रहरी टोलीले बारा जिल्लाको आदर्शकोतवाल गाँउपालिका–३, बातारामा खेतमा पार्किङ गरी राखेको प्र २–०३–००१ त ४८७६ नम्बरको ट्याक्टरको सुरक्षाजाँच गर्दा लागूऔषध गाँजा २ सय २५ किलो बरामद भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरको ढाला मुनि फल्सबटम बनाई लुकाइएको अवस्थामा लागूऔषध गाँजा वरामद भएको प्रहरीको भनाई छ । लागूऔषध गाँजासहित ट्याक्टर चालक बारा जिल्लाको आदर्शकोतवाल गाउँपालिका–३, बाताराका ३० वर्षीय नन्दकिशोर मुखिया बिन, मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–४ का २१ वर्षीय कमान प्रजा, कैलाश गाउँपालिका–४ का २४ वर्षीय सिताराम प्रजा र बकैया गाउँपालिका–५, छतिवनका २२ वर्षीय नवराज मगर पक्राउ परेका छन् ।











