हेटौँडा : गायक जीवन शर्मालाई श्यामप्रसाद शर्मा स्मृति सम्मान समर्पण गरिएको छ । शुक्रबार एक समारोहकाबीच शर्मालाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको हो । साहित्य संगम मकवानपुरको आयोजना तथा हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको प्रवर्धनमा गायक शर्मालाई सम्मान गरिएको हो ।
बागमती प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री एकालाल श्रेष्ठले गायक शर्मालाई सम्मानपत्र प्रदान गर्नुभयो । सम्मान कार्यक्रमपछि गायक शर्माले चर्चित गीत सिमली छायाँमा बसी, असारको चिसो पानी, फोकल्याण्डको टापबाट लगायतका गीत गाउनुभएको थियो । यसअघि साहित्य संगम मकवानपुरले श्यामप्रसाद शर्मा स्मृति सम्मान विमल निभा, नारायण ढकाल, नवराज शर्मा, केदार न्यौपाने र प्रदीप ज्ञवालीलाई प्रदान गरिसकेको छ । सुरुमा १५ हजार राशीको सम्मान गत वर्षदेखि २५ हजार रुपैयाँ प्रदान गरिँदै आएको छ ।
कार्यक्रममा स्थानीय कलाकार अजर फुयाँल, सुरेश न्यौपाने, सोलार चौलागाई, रमेश गहतराज, पूर्णविक्रम अधिकारीले पनि गीत गाएका थिए । कार्यक्रममा वडाध्यक्ष नवीन सिग्देलको पनि आतिथ्य रहेको थियो ।
