हेटौँडा : ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा हेटौँडामा प्रभातफेरीको आयोजना गरिएको छ । शनिबार नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा प्रभातफेरी कार्यक्रम भएको हो ।
हेटौँडाको स्कुलरोडबाट सुरु भएको प्रभातफेरी बुद्धचोक, मकवानपुर उद्योग वाणिज्य संघ पुगेर फेरी सीमाचोकमा आएर कोणसभामा परिणत भएको थियो । प्रभातफेरीपछि कोणसभालाई सम्वोधन गर्नुहुँदे नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाका अध्यक्ष बालकृष्ण अधिकारीले पछिल्लो समय नेपालमा पत्रकार माथि हस्तक्षेप, हमला भइरहेको, पत्रकारको हत्या समेत भइरहेको विषयमा चिन्ता व्यक्त गर्नुहुँदै विश्वसनीय समाचार सामग्री तयार पार्नतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
हरेक वर्ष ‘मे ३’ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । नामिवियाको विण्डहक शहरमा सन् १९९१ मा सम्पन्न अफ्रिकाका पत्रकारहरुको सम्मेलनले ‘मे ३’ का दिन स्वतन्त्र प्रेसका सम्बन्धमा एक घोषणापत्र जारी गरेको दिनलाई स्मरण गर्दै संयुक्त राष्ट्र संघको आव्हानमा सन् १९९३ देखि विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा विश्वभर मनाउन थालिएको हो ।
नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाई, बागमती प्रदेश समितिका संस्थापक अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष राममणि दाहालको सहभागिता रहेको थियो ।
