हेटौंडा : बागमती प्रदेशका विभिन्न जिल्लामा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । प्रदेशको रसुवा, नुवाकोट, चितवन, सिन्धुली र रामेछाप जिल्लाका विभिन्न ठाउँमा दुर्घटना भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका–४, गोल्जुङबेसीमा जेसीबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा रसुवाको नौकुण्ड गाउँपालिका–२, यार्साका २८ वर्षीय छिरिङ तामाङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बुद्धको मूर्ति बनाउनका लागि जमिन खन्ने क्रममा जेसीबी दुर्घटना हुँदा नुवाकोटको बिदुर नगरपालिका–४ का चालक सुरेन्द्र आचार्य र कामदार तामाङ घाइते भएका थिए । टाउकोमा चोट लागेर गम्भीर घाइते भएका तामाङलाई उपचारका लागि रसुवा अस्पताल, धुन्चे लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।
बा २ क ९६७८ नम्बरको जेसीबी ब्रेक फेल भई करिब ४० मिटर तल खसेर दुर्घटना भएको थियो । घाइते चालकलाई सामान्य उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–३ मा ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिहरपुगढी–३, रानीबारी बस्ने राधाकुमार राई छन् । तीनकुना–लिम्बुटार भित्री सडकखण्डमा लिम्बुटारतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ त २५३९ नम्बरको गिट्टी बोकेको ट्याक्टर उकालोमा ईन्जिनको भाग उठी चालकलाई च्याप्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ











