हेटौँडा : मकवानपुर महिला गोल्डकप फुटबलमा चितवन जिल्ला फुटबल संघ सेमीफाइनलमा प्रवेश गरेको छ । हेटौँडा–६ स्थित गौरिटार रंगशालामा शुक्रबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा पेनाल्टी सुटआउटमा ५–४ गोलअन्तरले चितवनले आयोजक मकवानपुरलाई पराजित गरेको हो ।
आयोजक मकवानपुर र चितवन बीचको खेलको निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टीबाट भएको थियो । समय अभावका कारण ६० मिनेट खेलाइएको खेलमा दोस्रो हाफमा चितवनले पहिलो गोल गरेको थियो । खेलको ३१ औं मिनेटमा चितवनका लागि अनिता गुरुङले गोल गरिन् । खेल अवधिभर पछि परेको मकवानपुरले निर्धारित समयको अन्त्यमा गोल गर्दै खेलमा फर्किएको थियो । मकवानपुरका लागि टिम क्याप्टेन सजिना स्याङ्तानले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै टिमलाई बराबरीमा ल्याएकी थिइन् ।
खेल बराबरीमा सकिएपछि पेनाल्टि सुटआउटमा चितवनले मकवानपुरलाई ५–४ ले हराएको हो । चितवनका लागि पेनाल्टी प्रहार गरेकी भावना क्षेत्री, सुशीला भुजेल, सृजना अधिकारी, अस्मिता चौधरी र चण्डिका रानाले गोल गरेका थिए । मकवानपुरका लागि अनु राईले प्रहार गरेको बल बाहिरिएको थियो । मकवानपुरका लागि सजना कोइराला, कृष्मा राई, सजिना स्याङ्तान र सुनिता भोलनले गोल गरेका थिए ।
प्लेयर अफ द म्याच चितवनकी अनिता गुरुङ घोषित भइन् । उनले नगद १० हजार रुपैयाँ तथा ट्रफि प्राप्त गरिन् । प्रतियोगिता अन्तर्गत शनिबार बारा जिल्लाको नवजनजागृति क्लब र संकटा क्लबबीच खेल हुनेछ । बैशाख २५ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछ भने विधागत खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
