Home खेलकुद हेटौँडामा हुने राष्ट्रिय महिला गोल्डकपमा ८ टिम सहभागी हुने

हेटौँडामा हुने राष्ट्रिय महिला गोल्डकपमा ८ टिम सहभागी हुने

पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिनुहुँदै महासचिव छवी सुवेदी ।

हेटौँडा : सातौं संस्करणको सहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता महिलातर्फ हुने भएको छ । छैठौं संस्करणसम्म पुरुषतर्फ आयोजित प्रतियोगिता सातौं संस्करणमा महिलातर्फ हुन लागेको हो । पछिल्लो समय राष्ट्रिय फुटबलमा महिलातर्फ आकर्षण बढ्दो रहेकोले महिलातर्फको प्रतियोगिता आयोजना गर्न लागिएको मकवानपुर जिल्ला फुटबल संघले जनाएको छ ।

मंगलबार मकवानपुर जिल्ला खेलकुद विकास समितिको कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रतियोगितामा आयोजकसहित ८ वटा टिमको सहभागिता रहने जानकारी गराएको छ । मकवानपुर जिल्ला फुटबल संघका महासचिव छवि सुवेदीले तीनवटा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी क्लबसहित मकवानपुर, रौतहट, चितवन जिल्लाको टिमसहित बीरगन्ज युथ एकेडेमी र नवजनजागृति युवा क्लबको सहभागिता रहनेछ ।

हेटौँडा उपमहानगरपालिकाको २५ लाख रुपैयाँ, बागमती प्रदेश खेलकुद विकास परिषद्को १५ लाख रुपैयाँ, भमिफेदी र कैलाश गाउँपालिकाको ३/३ लाख रुपैयाँसहित प्रतियोगिता आयोजनाका लागि विभिन्न क्षेत्रको सहयोग रहने बताइएको छ । हेटौँडा–६, गौरिटारस्थित फुटबल खेलमैदानमा शुक्रबारबाट सुरु हुने प्रतियोगिताको विजेताले ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्नेछ ।

नुवाकोटमा जारी महिला फुटबल प्रतियोगिताको फाइनल खेल्ने टिमको निश्चित भएसँगै खेल तालिका सार्वजनिक गरिने मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाले जानकारी दिनुभएको छ । मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ । यसअघि पनि विष्टकै संयोजकत्वमा मूल समिति गठन गरिएको थियो । पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रीय समिति सदस्य तथा महिला फुटबलकी अध्यक्ष पेमा लामाको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version