Home मुख्य समाचार हेटौँडा ल्याउँदै गरेको ठूलो परिमाणको लागूऔषध अमलेखगन्जबाट प्रहरीले नियन्त्रणमा लियो

हेटौँडा ल्याउँदै गरेको ठूलो परिमाणको लागूऔषध अमलेखगन्जबाट प्रहरीले नियन्त्रणमा लियो

बारा प्रहरीले लागूऔषधसहित पक्राउ गरेकालाई सार्वजनिक गर्दै ।

हेटौँडा : हेटौँडा ल्याउँदै गरेको ठूलो परिमाणको लागूऔषध बारा प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा बारा प्रहरीले मंगलबार दिउँसो ३ बजेर ३१ मिनेटको समयमा अमलेखगन्ज प्रहरी चौकी अगाडिबाट नियन्त्रणमा लिएको हो ।

राजमार्गमा सुरक्षाजाँच गर्ने क्रममा बीरगन्जबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय नम्बरको कारबाट लागूऔषधसहित एकजना भातरीय नागरिक र एकजना नेपाली नागरिक गरी २ जनालाई पक्राउ गरेको छ । बी आर ०५ बी ए ४८१७ नम्बरको भारतीय कारबाट प्रतिवन्धित लागूऔषध ट्रामाडोल क्याप्सुल २ हजार ९ सय ६५ पत्ता बरामद भएको प्रहरीले उल्लेख गरेको छ । प्रहरीले लागूऔषधसहित भारतको बिहार राज्यको मोतिहारी जिल्लाका २३ वर्षीय नितिशकुमार ठाकुर र पर्सा जिल्लाको बीरगन्ज महानगरपालिका–२६ का सिद्धान्त प्रसाद पटेललाई पक्राउ गरिएको जनाएको छ ।

यसअघि मकवानपुर प्रहरीले बैशाख ११ गते बिहीबार बीरगन्जबाट हेटौँडा ल्याइएको ५ हजार ७ सय ५० पत्ता लागूऔषध ट्रामाडोलसहित बारा जिल्लाका २ जनालाई हेटौँडा–१५, रातोमाटेबाट पक्राउ गरेको थियो । यस्तै त्यसअघि पनि बीरगन्जबाटै हेटौँडा हुँदै काठमाडौं लैजाँदै गरेको अवस्थामा चैत २२ गते राती ललितपुर प्रहरीले पक्राउ गरेको थियो । हेटौँडा–ठिंगन–ललितपुर कान्तिलोकपथअन्तर्गत ललितपुरको भट्टेडाँडास्थित प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले एम्बुलेन्समा राखेर तस्करी गर्दै गरेको अवस्थामा ५ हजार ४ सय पत्ता ट्रामाडोल बरामद गरेको थियो । प्रहरीले भारतीय नम्बरको एम्बुलेन्सबाट लागूऔषधसहित ४ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।

Exit mobile version