हेटौँडा : नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले दलविहीनहरुले गलत मनसायसहित राजनीतिक दलहरु खत्तम भन्ने भाष्य स्थापित गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । ‘दलहरुका विकल्प हुन्छन्, निर्विकल्प छैनन्’ यसैले सबै गलत भन्ने भाष्यबाट मुलुकलाई बचाएर लैजाउनु पर्ने नेता बस्नेतले बताउनुभयो ।
मंगलबार हेटौँडाको बस्तिपुरमा आयोजित नेपाल शैक्षिक स्वयंसेवी संगठनको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेता बस्नेतले सरकारका पछिल्ला काम कारवाही नागरिकमैत्री नभएको टिप्पणी गर्नुभयो । उहाँले सरकार बिचौलियाहरुको हितमा निर्भर रहेको दावी समेत गर्नुभयो । सरकारबाट एमालेले फाईदा लिने कि कांग्रेसले लिने भन्ने गलत किसिमको होडबाजी चलिरहेको बस्नेतको भनाई थियो ।
‘राजनीतिक दल र लोकतन्त्र आपसमा अन्तरसम्बन्धित छन् । दलहरु कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो । यसैले पनि यसबाट सचेत हँुदै दलभित्रका कमजोरीलाई सुधारमा अघि बढ्न जरुरी छ’, उपमहासचिव बस्नेतले भन्नुभयो । सम्मेलनलाई सम्बोधन गर्नुहुँदै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् खेलकुद महासंघका फ्याक्सन ईन्चार्ज दीपक कोईरालाले शैक्षिक स्वयंसेवीहरुले आफूलाई समाजवादी सेनाको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् मकवानपुर ईन्चार्ज विजय गौतमले विचारविहीन युवा भनेको लगाम बिनाको घोडा जस्तै हुने बताउनुभयो । उहाँले युवाहरुलाई सही विचार र दृष्टिकोणयुक्त बनाउन सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । सम्मेलनले केशव महर्जनको अध्यक्षतामा २७ सदस्यीय समिति चयन गरेको छ । संगठनको उपाध्यक्षमा बबिता कटुवाल, किरण गिरी, टेकबहादुर थापा, महासचिवमा भीमराज खड्का, सचिवमा सीता नेपाली, शिवकुमार त्वत, बिकेन्द्र महर्जन, उपेन्द्र घिमिरे, ईश्वर लामिछाने, भूमिका मगर, कोषाध्यक्षमा दामोदर बस्नेत लगायत सदस्यहरु चयन भएका छन् ।
