हेटौँडा: केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना तथा हेटौँडा उपमहानगरपालिकाको सहयोगमा आयोजना गरिएको उपमेयर कप भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ हेटौँडा–१२ र पुरुषतर्फ हेटौँडा–१९ ले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा महिलातर्फ हेटौँडा–१२ ले हेटौँडा–९ लाई ४–१ को सेटमा पराजित गर्दै उपाधि जितेको हो भने पुरुषतर्फ हेटौँडा–१९ ले हेटौँडा–१२ लाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
महिलातर्फको फाइनल खेलमा हेटौँडा–१२ ले २५–२०, २२–२५, २५–१५ र २६–२४ को सेटमा हेटौँडा–९ लाई पराजित गरेको हो । महिलातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हेटौँडा–१२ की प्रीतज्ञा माझी घोषित हुँदा उत्कृष्ट स्पाइकर हेटौँडा–५ की सजिना नगरकोटी, उत्कृष्ट सेटर हेटौँडा–९ की दिशारा पुलामी, उत्कृष्ट डिफेन्डर हेटौँडा–९ कै आयुषा सिंह, उदीयमान खेलाडी हेटौँडा–१२ की प्रशंसा भोम्जन घोषित हुनुभयो । उत्कृष्ट प्रशिक्षक हेटौँडा–१२ का विवेक रुम्बा घोषित हुनुभयो ।
यस्तै पुरुषतर्फ हेटौँडा उपमहानगरपालिका १२ नम्बर वडालाई २५–१५, २५–१५ र २५–१२ को सोझो सेटले पराजित गर्दै १९ नम्बर वडाले उपाधि जितेको हो । पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी हेटौँडा–१९ का धिरज लो घोषित हुनुभयो । पुरुषतर्फ उत्कृष्ट डिफेण्डर हेटौँडा–१९ का हेम उप्रेती, उत्कृष्ट सेटर हेटौँडा–१९ कै दिनेश तामाङ, उत्कृष्ट ब्लकर पनि हेटौँडा–१९ कै विशेष थापा मगर घोषित हुनुभयो । उदीयमान खेलाडी हेटौँडा–१२ का विवेक पराजुली घोषित हुँदा उत्कृष्ट प्रशिक्षक हेटौँडा–१९ का सुवास सुवेदी घोषित हुनुभयो ।
उपाधि विजेता महिला तथा पुरुष दुबै टिमले ७५÷७५ हजार रुपैयाँसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता टिमले ५०÷५० हजार रुपैयाँ नगदसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले ७ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्दा विधागत उत्कृष्ट खेलाडीले जनही ४ हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेका छन् ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानका अध्यक्ष प्रताप विष्टको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियो । कार्यक्रममा वडाध्यक्षहरु, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तान, मकवानपुर जिल्ला भलिबल संघका अध्यक्ष बसन्त सिटौलाको पनि आतिथ्य रहेको थियो । प्रतियोगिताको संयोजक मकवानपुर जिल्ला भलिबल संघका सदस्य नरेन्द्र मोक्तान रहनुभएको थियो ।
