Home मुख्य समाचार प्रमुख सडकलाई प्राथमिकता देउ

प्रमुख सडकलाई प्राथमिकता देउ

सडक महत्वपूर्ण पूर्वाधार हो । सडकका प्रकारअनुसार संघीय नेपालको तीनै तहका सरकारको क्षेत्राधिकार समेत तोकिएको छ । राष्ट्रिय राजमार्ग, ठूला पुल संघीय सरकारको जिम्मेवारी भित्र राखिएको छ भने प्रादेशिक सडकको जिम्मेवारी प्रदेश सरकारकै रहने भनिएको छ । स्थानीय तहले स्थानीय सडककै निर्माण र व्यवस्थापनमा ध्यान दिनुपर्नेछ । नेपालको सन्दर्भमा सडक पूर्वाधारको उचित विकास हुन सकेको छैन । राष्ट्रिय राजमार्गहरु नै राजमार्ग जस्ता छैनन् । राजमार्ग फराकिला, सुरक्षित र स्तरीय हुनुपर्ने विपरित साँघुरा, असुरक्षित र कमजोर अवस्थाका छन् । राजमार्ग एक हिसाबले मृत्युमार्ग नै बनेको छ । संघीय र प्रदेश सरकारले जिम्मेवार भएर ठूला र मझौला योजनामा लगानी गर्नेतर्फ जिम्मेवार हुन नसक्दा, ध्यान नदिँदा सडक पूर्वाधार जोखिमपूर्ण अवस्थामा रहेका छन् ।

गएको मनसुनमा मौसम पूर्वानुमान महाशाखाले गरेको अनुमानअनुसार नै ठूलो जनधनको क्षति भयो । त्रिशुली नदिमा हराएका २ वटा बस भेटिएन । नागढुंगामा बस र जित पुरिएर ३७ जनाको एउटै चिहान बन्न पुग्यो । मौसम पूर्वानुमान महाशाखाले सचेत गराउँदा समेत आवश्यक सतर्कता कायम गर्न, गराउन नसक्नु उत्तिकै लज्जाको विषय हो । गत वर्ष असोज महिनाको वर्षामा समेत ठूलो जनधनको क्षति भयो । सोही क्रममा मकवानपुरमा पनि ठूलो क्षति भयो । खासगरी मकवानपुरको उत्तरी क्षेत्र इन्द्रसरोवर गाउँपालिकामा सडक पूर्वाधार र आवासीय क्षेत्रमा ठूलो क्षति भयो । सडक र पुलको पहूँच मार्गमा पुगेको क्षतिको अझै पुननिर्माण हुन सकेको छैन । भीमफेदी–कुलेखानी–सिस्नेरी–छैमले सडक र कुलेखानी–फाखेल सडक खण्ड पुननिर्माणको कार्य पूरा हुन सकेको छैन ।

बागमती प्रदेश सरकारले अहिले पुनर्निर्माणको कार्य अगाडि बढाएको छ । हेटौँडा–काठमाडौं छोटो मार्गको भएकोले अहिले सर्वसाधारण हेटौँडा–काठमाडौं आउजाउ गर्ने प्रमुख मार्ग हो । विशेषगरी साना सवारीका साधनको प्रमुख मार्गको रुपमा प्रयोग हुँदै आएको यो सडकमा दैनिक हजार भन्दा बढी सवारी साधन गुड्छन् । छोटो मार्ग भएर पनि सडकको स्तरीकरण गरी केही छोटा सुरुङ खन्न सके अझै छोटो र छरितो हुने सम्भावनालाई आत्मसात गर्न सकिएको छैन । छोटो भए पनि यो सडकलाई सुरक्षित र सहज बनाउनेतर्फ खासगरी बागमती प्रदेश सरकारले ध्यान दिन सकेको छैन ।

बागमती प्रदेश सरकारले हेटौँडा–कुलेखानी–काठमाडौं सडकलाई छोटो हुनुका बाबजुद सुरक्षित पनि बनाउने हो भने मूलतः प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौं उपत्यकासँगै उत्तर–पूर्वी प्रदेशका जिल्लाहरुका लागि पनि प्रदेशको राजधानी नजिक हुने थियो । प्रदेश राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्गलाई प्रदेश सरकारले प्राथमिकतामा राख्न नसक्दा प्रदेश राजधानीको समग्र विकासको सम्भावना पनि ओझेलमा परेको छ । गत असोजको क्षतिलाई मनन् गरेर चालु आर्थिक वर्षमै बागमती प्रदेश सरकारले हेटौँडा–कुलेखानी–काठमाडौं सडक खण्डको स्तरीकरणको काम गर्नु जरुरी थियो । साथै आगामी आर्थिक वर्षमा प्राथमिकताका साथ छोटो मार्गलाई सुरक्षित र स्तरीय मार्गको रुपमा विकसित गर्ने आधार तयार पार्नुपर्ने थियो । तर, प्रदेशको प्रमुख मार्ग भइकन पनि प्रदेश सरकारले ध्यान दिन नसक्दा आगामी वर्षामा पनि नागरिकले दुख पाउने सम्भावना छ ।

Exit mobile version