हेटौँडा : शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले यस वर्षको एसईईको उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणको कार्यमा सहभागी हुन शिक्षकहरुलाई आव्हान गरेको छ । इकाईले बुधबार एक सूचना जारी गर्दै माध्यमिक तहमा सम्बन्धित विषयमा कम्तिमा दुई वर्षदेखि अध्यापन गराएका शिक्षकहरुलाई इकाईमा सम्पर्क गर्न आग्रह गरिएको छ ।
उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षण गर्न चाहने शिक्षकले आफू कार्यरत विद्यालयको सिफारिस समेत समावेश गर्नुपर्नेछ । हालसम्म उत्तरपुस्तिका आइन नसके पनि परीक्षणको तयारी सुरु गरिएको इकाई प्रमुख सुदीप गिरीले जानकारी दिनुभयो । यस वर्ष सरकारले आगामी असार ७ गतेभित्र नै नतीजा सार्वजनिक गर्ने घोषणा एसईईको तालिका सार्वजनिक गर्ने बेलामा नै गरेको थियो ।
एसईईको उत्तरपुस्तिका परीक्षणको कार्य चैत अन्तिमदेखि सुरु गरेर ढिलोमा जेठ १५ गतेभित्र केन्द्रमा पठाइसक्नुपर्ने इकाई प्रमुख गिरीले जानकारी दिनुभयो । एसईईको उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणका लागि इकाईले एउटा उपयुक्त स्थानलाई केन्द्र कायम गरी शिक्षकहरुलाई उत्तरपुस्तिका परीक्षणमा सहभागी गराउनेछ । यस वर्षको एसईई चैत ७ गते सुरु भएर चैत १९ गते सम्पन्न भएको थियो ।
