हेटौँडा : नेकपा माओवादी केन्द्रले विगतको सहमति कार्यान्वयन नभएसम्म प्रदेश सभा बैठक चल्न नसक्ने चेतावनी दिएको छ । मंगलबार बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले विगतका सहमति कार्यान्वयन नभएसम्म प्रदेशसभा बैठक चल्न नसक्ने निर्णय गरेको हो ।
सरकारले प्रदेश सभा सदस्यहरुलाई झुक्याउने र ढाँट्ने काम गरेको भन्दै माओवादीको संसदीय दलको बैठकले प्रदेशसभा बैठक चल्न नसक्ने निर्णय गरेको प्रदेश सभा सदस्य युवराज दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार विगतमा सरकारले बजेट माथीको सहमति गर्दै प्रदेश सभा सदस्यहरुको छुटेका योजना समेट्ने जनाएको थियो । सोही सहमति अनुसार प्रदेश सभा सदस्यहरुले संसदीय दल मार्फत योजना उपलब्ध गराए पनि हालसम्म कार्यान्वयन हुन नसकेको उहाँको भनाई छ ।
सरकार ढाँट र छलबाट अघि बढेको उहाँले आरोप लगाउनुभयो । सरकारले आफ्नो गल्ती सच्याएर प्रदेश सभा सदस्यहरुले पेश गरेका योजनामा बजेट नदिएसम्म प्रदेश सभा बैठकको काम कारवाही अघि बढ्न नसक्ने संसदीय दलको निर्णय रहेको उहाँको भनाई छ । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालका अनुसार दलको तर्फबाट पेश भएका बजेट कार्यक्रमहरू कार्यान्वयनको चरणमा अघि नबढाएसम्म प्रदेश सभाको गतिविधिहरु अघि बढ्न नसक्ने निर्णय भएको हो । सरकारले प्रतिपक्षी दलसँग गरेका सहमति अनुसार बजेट कार्यक्रम कार्यान्वयनका चरणमा अघि बढाएर प्रदेश सभा सञ्चालनको वातावरण तयार गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार संसदीय दलको बैठकले सहकारी मन्त्री मदुकुमार श्रेष्ठको स्वकीय सचिवको आत्महत्याको विषयमा संसदीय छानविन गठन गरेर अघि बढ्नुपर्ने माग राखेको छ ।
यता प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले मंगलबार दिउँसो ४ बजेका लागि प्रदेश सभाको बैठक बोलाउनुभएको छ ।
