हेटौँडा : बागमती प्रदेशको सर्वदलीय बैठक विना निश्कर्ष टुंगिएको छ । मंगलबार बिहान ९ बजेदेखि बसेको प्रदेशसभाका ७ दलको बैठक निश्कर्षविहीन बनेको हो ।
सभामुख भुवन कुमार पाठकले आह्वान गर्नुभएको उक्त बैठकमा दलहरुबीच सहमति हुन नसकेको हो । सत्तापक्ष र प्रतिपक्ष बीचको विगतको बजेट माथिको सहमति र पछिल्लो समय भएको सहकारी मन्त्री मदुकुमार श्रेष्ठको स्वकीय सचिवको आत्महत्या प्रकरणमा छानविन समिति गठनका विषयमा सहमति जुट्न नसक्दा बैठक निश्कर्षविहीन बनेको हो ।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलका अनुसार सरकारले प्रतिपक्षलाई समेट्ने र हाउस चलाउने विषयमा गम्भिरता नदेखाउँदा सहमति जुट्न नसकेको हो । सर्वदलीय बैठकमा प्रदेश सभा चलाउने वातावरण तयार गर्न प्रतिपक्षले माग गर्दा पनि सरकार त्यसमा जिम्मेवार बन्न नसकेको उहाँको भनाई छ ।
प्रतिपक्षका तर्फबाट विगतमा भएको बजेट माथिको सहमति कार्यान्वयन र सहकारी मन्त्री श्रेष्ठको स्वकीयको छानविन समिति गठनका विषयमा उठान भएको उहाँले बताउनुभयो । सो विषयमा सरकारले उचित जवाफ र सकारात्मक प्रतिक्रिया नजनाएपछि सर्वदलीय बैठक बिना निश्कर्ष टुंगिएको नेता जम्कट्टेलले बताउनुभयो । सरकारको प्रतिवद्धतासहितको जवाफ नआए संसद अघि बढ्न नसक्ने उहाँको भनाई छ ।
नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनालका अनुसार बैठकमा प्रतिपक्षी दलले उठाएको माग र मुद्दामा सरकारले सकारात्मक संकेत नदेखाएपछि निश्कर्ष निस्कन सकेन । विगतका सहमति कार्यान्वयन र सहकारी मन्त्री श्रेष्ठको छानविन समिति गठनका विषयमा सरकार सकारात्मक नरहेको उहाँले बताउनुभयो । उक्त विषयमा सहमति जुट्न नसके संसद बैठक प्रभावत हुने उहाँको भनाई छ ।
