हेटौँडा : आज चैत ७ गते बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ । एसईईका लागि मकवानपुर जिल्लामा २८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षा सञ्चालनका लागि २८ जना केन्द्राध्यक्ष, ५१ जना सहायक केन्द्राध्यक्ष, ३७४ निरीक्षक, ७६ परीक्षा सहायक, १५० कार्यालय सहयोगी, ४२० जना सुरक्षाकर्मी खटिने शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरले जनाएको छ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा बिहान ८ बजे सुरु भएर ११ बजे सकिनेछ ।
यस वर्ष मकवानपुर जिल्लाबाट एसईईमा सहभागी हुन नियमिततर्फ ५ हजार ८ सय ६५ जना विद्यार्थीले परीक्षा फारम भरेका छन् भने ग्रेडवृद्धितर्फ १ हजार ५ सय ९१ जना विद्यार्थीले परीक्षा फारम भरेका शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख सुदीप गिरीले जानकारी दिनुभएको छ । मकवानपुर जिल्लाका सामुदायिक र संस्थागत गरी १ सय ३९ वटा विद्यालयबाट एसईईमा विद्यार्थी सहभागी हुँदैछन् ।
मकवानपुरमा गत वर्ष २६ वटामात्रै परीक्षा केन्द्र तोकिएको थियो । परीक्षार्थीको सुविधालाई मध्यनजर गर्दै कैलाश गाउँपालिकाको नामटारस्थित कालिका माध्यमिक विद्यालय र हेटौंडा–४, कर्रास्थित श्रमिक माध्यमिक विद्यालयमा परीक्षा केन्द्र थप गरिएको प्रमुख गिरीले जानकारी दिनुभयो । यस वर्ष प्राविधिक धारतर्फको परीक्षा श्रमिक माविमा हुनेछ ।
कैलाश गाउँपालिकामा पनि परीक्षा केन्द्र निर्धारण गरिएपछि मकवानपुरका १० वटै पालिकामा परीक्षा केन्द्र कायम भएको छ । यसअघि गत वर्षको एसईईमा राक्सिराङ गाउँपालिकामा पनि परीक्षा केन्द्र निर्धारण गरिएको थियो । यस्तै यस वर्षको एसईईमा भीमफेदी कारागारमा ७ जना र हेटौँडास्थित बालसुधारगृहमा २ जना परीक्षार्थी छन् । यस वर्ष सबैभन्दा बढी आधुनिक राष्ट्रिय माविबाट ३९९ जना विद्यार्थीले एसईईमा सहभागी हुन परीक्षा फारम भरेका छन् । आधुनिक राष्ट्रिय माविका विद्यार्थीले हेटौँडा–५ स्थित बालज्योति मावि परीक्षा केन्द्रमा परीक्षा दिनेछन् ।
यस वर्षको एसईईमा बागमती प्रदेशबाट एक लाख ८ हजारभन्दा बढी विद्यार्थीहरु सहभागी हुने भएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लाबाट नियमित तथा ग्रेडबृद्धि गरी एक लाख ८ हजार २६५ जना विद्यार्थी एसईईमा सहभागी हुँने भएका हुन् । जसमध्ये ५२ हजार ४९० जना छात्रा, ५५ हाजर ७७३ जना छात्र र २ जना अन्य रहेका छन् । मन्त्रालयका अनुसार प्रदेशका १३ जिल्लामा ४३८ परिक्षा केन्द्रहरुको व्यवस्था गरी परीक्षा सञ्चालन हुने व्यवस्था गरिएको छ । मन्त्रालयका अनुसार प्रदेशमा सबैभन्दा धेरै काठामाडौका ३९ हजार ३८२ जना र सबैभन्दा कम रसुवाका ५३३ जना विद्यार्थी एसईईमा सहभागी हुने छन् ।
यसैगरी भक्तपुरका ६ हजार ५९४, चितवना १२ हजार ४६०, धादिङका ५ हजार ४६४, दोलखाका २ हजार ८३३, काभ्रेका ६ हजार ३९७, ललितपुरका १० हजार ५९९, मकवानपुरका ७ हजार ४८१, नुवाकोटका ४ हजार ६१४, रामेछापका २ हजार ७०४, सिन्धुलीका ५ हजार ७८१ र सिन्धुपाल्चोकका ३ हजार ४२३ जना विद्यार्थीले एसईईमा सहभागिता जनाउने भएका छन् ।
सामाजिक विकास मन्त्रालयका सचिव एवम् परीक्षा संचालन तथा व्यवस्थापन समिति बागमती प्रदेशका अध्यक्ष बद्रीनाथ गैरेले परीक्षालाई व्यवस्थित, अनुशासित मर्यादित र शान्तिपूर्ण रुपमा संचालन गर्न सबै तयारी भइसकेको बताउनुभयो । उहाँले परीक्षार्थीहरुका लागि भयरहित एवम् मर्यादित वातावरणको सुनिश्चितता गर्न स्थानीय प्रशासन, स्थानीय तह, संचारकर्मी, शिक्षकका पेशागत समुदाय, विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक, विद्यार्थीलगायत सम्पूर्णलाई आग्रह समेत गर्नुभएको छ ।