Home मुख्य समाचार पूर्वप्रधानमन्त्री दाहालको फोटो जलाउने राप्रपा निकट युवा संगठनका बमलाई प्रहरीले पक्रियो

पूर्वप्रधानमन्त्री दाहालको फोटो जलाउने राप्रपा निकट युवा संगठनका बमलाई प्रहरीले पक्रियो

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको फोटो जलाउँदै निराजन बम ।

हेटौँडा : हेटौँडामा शनिबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन केन्द्रीय समितिका सचिव निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । चितवन जिल्लास्थित भरतपुर विमानस्थलबाट काठमाडौं जान लागेका बमलाई चितवन प्रहरीले आइतबार मध्यान्ह १२ बजेको समयमा पक्राउ गरेको हो ।

बमलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याउँदैछ । बम विरुद्ध कसले उजुरी गर्‍यो भन्ने प्रहरीले खुलाएको छैन । मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बमलाई चितवनमा पक्राउ गरिएको पुष्टि गर्नुहुँदै बम विरुद्ध उजुरी नै दर्ता नभएको जीकिर गर्नुभयो । पूर्वप्रधानमन्त्रीको फोटो जलाउने कार्य गलत र आपराधिक क्रियाकलाप भएकाले पक्राउ गरिएको प्रवक्ता अर्यालको भनाइ छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको अधिवेशनको उद्घाटन कार्यक्रममा शनिबार हेटौँडामा संघीय सांसद दीपक बहादुर सिंहको उपस्थिति रहेको कार्यक्रममा बमले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको फोटो जलाएका थिए ।

बमलाई पक्राउ गरिएको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले विज्ञप्ति जारी गरेको छ । संगठनका सयोजक सुजित केसीले विज्ञप्ति जारी गर्दै बमलाई पक्राउ गरेर सरकारले नागरिकको वैयक्तिक स्वतन्त्रतालाई अवरोध गरेको आरोप लगाएको छ । बमलाई पक्राउ गरिनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र सरकारको अधिनायकवादी चरित्रको प्रमाण भएको उल्लेख गर्दै संगठनले बिना शर्त रिकाई गर्न माग गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरका अध्यक्ष किशोर खत्रीसहित एक समूह जिल्ला प्रहरी कार्यालय मकवानपुर पुगेका छन् ।

Exit mobile version