हेटौँडा : मकवानपुरको मनहरीबाट लागुऔषध अफिमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मनहरी गाउँपालिका–८, देवकोट चोकबाट मेनरोडतर्फ आउँदै गर्दा २ किलो ५३० ग्राम अफिमसहित मनहरी–८ का ३२ वर्षीय राजकुमार तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
शनिबार राती ८ः२० बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले देवकोट चोकबाट मेनरोडतर्फ आउँदै गरेको ग ६ प ४५८४ नम्बरको मोटरसाईकलाई रोकेर सुरक्षाजाँच गर्ने क्रममा तामाङको साथबाट २ किलो ५३० ग्राम अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रवक्ता अर्यालका अनुसार तामाङले अफिम मोटरसाईकलको लेगार्डमा प्लास्टिक भित्र लुकाई ल्याइएको अवस्थामा बरामद भएको थियो । तामाङलाई नियन्त्रणमा लिएर मकवानपुर जिल्ला अदालतबाट ८ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता अर्यालले बताउनुभएको छ ।











