
हेटौँडा : हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामा एक साताको अष्ट्रियाको भ्रमण सकेर शनिबार स्वादेश फर्कनुभएको छ । गत आइतबार अष्ट्रियाको भियनास्थित इन्सब्रुक विश्वविद्यालयमा आयोजित सह–अन्वेषणसम्बन्धी परियोजना कार्यशाला तथा सञ्जालीकरणको बैठकमा सहभागी हुन जानुभएकी नगरप्रमुख लामा आइतबारदेखि नियमित काममा व्यस्त हुनुहुन्छ ।
आइतबार नियमित काममा फर्कनुभएकी नगरप्रमुख लामालाई अष्ट्रिया भ्रमणको सन्दर्भमा बुझ्न खोज्दा उहाँ बोल्न चाहनु भएन । आफू कार्यक्रममा व्यस्त रहेको र केही बताउन नचाहेको नगरप्रमुख लामाले बताउनुभयो । नगरप्रमुख अष्ट्रिया भ्रमण जाँदै गर्दा र फर्केर आइसक्दा पनि नगरप्रमुखको भ्रमणको विषयमा हेटौँडा उपमहानगरपालिकाको कार्यालय र नगरप्रमुखको निजी सचिवालयले कुनै किसिमको औपचारिक जानकारी गराएको छैन ।
यसअघिका भ्रमणमा पनि उपमहानगरले नगरप्रमुखको भ्रमणको जानकारी गराउने गरेको छैन । नगरप्रमुख लामाले यसअघि करिब आधा दर्जन मुलुकको भ्रमण गरिसक्नुभएको छ । नगरप्रमुखको वैदेशिक भ्रमणबाट उपमहानगरले के कस्ता लाभ हासिल ग¥यो भन्ने विषय पनि यकिन हुन सकेको छैन ।
अष्ट्रिया भ्रमणबाट फर्कनुभएकी नगरप्रमुख लामा आइतबार हेटौँडा–१४ मा एक साता गुफा बसेका झाँक्री गुफा निक्लने कार्यक्रममा सहभागी हुनुभएको छ । नगरप्रमुख लामाले गुफा बसेका १० जना झाँक्रीलाई पोशाक प्रदान गर्नुभएको नगरप्रमुखको सचिवालयले जनाएको छ । यस्तै उहाँ हेटौँडा–७ स्थित तासिर इंग्लिस सेकेण्डरी स्कूलको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा पनि सहभागी हुनुभएको छ ।