छनोट प्रतियोगितामा सहभागी खेलाडीहरु ।

हेटौंडा : नेत्रहीन क्रिकेटको महिला टिम छनोटका लागि हेटौंडा छनोट प्रतियोगिता सुरु भएको छ । नेत्रहीन क्रिकेट संघ नेपालको आयोजना तथा नेपाल अपाङ्ग राष्ट्रिय महासंघको सहकार्यमा नेत्रहीन क्रिकेट महिला टिम छनोट प्रतियोगिता सुरु भएको हो ।

मकवानपुर जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा ७ वटा प्रदेशबाट ३ टिम सहभागी भएको नेपाल अपाङ्ग राष्ट्रिय महासंघका अध्यक्ष उपेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ । आगामी नोभेम्बर महिनामा हुने महिला नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुने टिम छनोट गर्न प्रतियोगिताको आयोजना गरेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

७ प्रदेशबाट ३८ जना महिला खेलाडीको सहभागितामा सञ्चालन भएको प्रतियोगिता आउँदो मंगलबारसम्म सञ्चालन हुनेछ । संघले महिला क्रिकेट टिमलाई प्रारम्भिक छनोट गर्नका लागि प्रतियोगिता आयोजना गरेको उहाँले बताउनुभयो । पहिलो चरणको छनोटमा २५ जना खेलाडीलाई प्रारम्भिक सूचीमा राखिने उहाँले बताउनुभयो । दोस्रो चरणमा २० जना खेलाडीलाई छनोट गरेर अन्तिम चरणको छनोटका लागि सहभागी गराएर बन्द प्रशिक्षणमा सहभागी गराउने उहाँले बताउनुभयो ।

बन्द प्रशिक्षणमा परेका खेलाडीहरु उक्त प्रतियोगितामा सहभागी हुन पाउने उहाँले बताउनुभयो । काठमाडौं महानगरपालिकामा क्रिकेट छनोट प्रतियोगिताका लागि मैदानको समस्या परेका कारण हेटौंडामा छनोट प्रतियोगिता आयोजना गरेको उहाँले बताउनुभयो । हेटौंडामा प्रतियोगिता आयोजना गरेर आफ्ना खेलाडीलाई नयाँ ठाउँको पहिचान गराउने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

नेत्रहीन क्रिकेटमा ३ वटा समूह विभाजन गरेर प्रतियोगिता आयोजना गर्ने प्रावधान रहेको उहाँले बताउनुभयो । बी १, बी २ र बी ३ मा समूह विभाजन गरेर प्रतियोगिता सञ्चालन गरिने उहाँले बताउनुभयो । बी १ समूहले कुनै पनि वस्तुलाई पूर्णरुपले देख्न नसक्ने, बी २ ले ५ मिटर सम्मको मानिस र वस्तुलाई देख्न सक्ने र बी ३ ले १० मिटरसम्मको वस्तुलाई देख्न सक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार बी १ समूहमा ४ जना बी २ मा ३ जना र बी ३ मा ४ जना गरी ११ जनालाई खेलमा सहभागी गराइनेछ । ३ वटै समूहका १÷१ जना अतिरिक्त खेलाडीलाई टिममा सहभागी गराइने उहाँले बताउनुभयो ।

काठमाडौं महानगरपालिकामा २०६२ सालमा नेत्रहीन क्रिकेट संघको स्थापना भएको उहाँले बताउनुभयो । नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालको पुरुष टिमले सन् २०१२ देखि सहभागी भइरहेको उहाँले बताउनुभयो । दुई वर्षको अन्तरालमा हुने प्रतियोगिताको पछिल्लो संस्करण पाकिस्तानमा २०२४ को डिसेम्बरमा भएको थियो । प्रतियोगितामा नेपालको टिम सेमिफाइनलमा पुगेर पराजित हुनुपरेको उहाँले बताउनुभयो ।

पुरुषको टिम ८ वटा राष्ट्रमा चौथो स्थानमा र महिलाको टिम ८ वटा राष्ट्रमा पहिलो स्थानमा रहेको उहाँले बताउनुभयो । महिलाको टिमले सन् २०१४ मा बेलायत, २०१९ मा पाकिस्तान र २०२३ मा भारतसँगको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता जितेको उहाँले बताउनुभयो ।

३ वटा समूहका खेलाडी सहभागी भएको छनोट प्रतियोगिता निर्धारित २० ओभरमा सञ्चालन गरिएको छ । प्रतियोगिताको विजेता र उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी भएका खेलाडीलाई खेल कौशलता, प्रदर्शनी र उनीहरुको रुचि क्षमताको आधारमा छनौट गरिने उहाँले बताउनुभयो ।