Home मुख्य समाचार बागमती प्रदेश प्रहरीद्वारा मातहतका इकाईसँग कार्यसम्पादन करार

बागमती प्रदेश प्रहरीद्वारा मातहतका इकाईसँग कार्यसम्पादन करार

मकवानपुरका प्रहरी प्रमुख सुशील सिंह राठौरसँग कार्यसम्पादन करार आदानप्रदान गर्नुहुँदै प्रदेश प्रहरी प्रमुख बसन्तकुमार लामा ।

हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालयले मातहतका १४ वटै इकाईसँग तीन चरणमा कार्यसम्पादन करार गरेको छ । शनिबार प्रदेश राजधानी हेटौंडास्थित प्रदेश प्रहरी कार्यालयमा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा प्रदेश प्रहरी कार्यालयले कार्य सञ्चालन समिक्षा तथा आगामी कार्यनीति सम्बन्धी छलफल समेत गरेको छ । नेपाल प्रहरीमा प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालय प्रमुखहरु बीच पहिलो पटक कार्यसम्पादन सम्झौता भएको बागमती प्रदेश प्रहरी कार्यालयले दावी गरेको छ ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले शनिबार बागमती प्रदेश प्रहरी तालिम केन्द्र, बागमति प्रदेश प्रहरी दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रातोमाटेसँग कार्य सम्पादन करार गर्नुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालयले पहिलो चरणमा असार ५ गते धादिङ जिल्लामा कार्यसम्पादन आयोजना गरेको थियो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले मातहतका ६ वटा कार्यालयका प्रमुखहरुसँग कार्यसम्पादन करार गर्नुभएको थियो ।

पहिलो चरण अन्तर्गतमा प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर, जिल्ला प्रहरी कार्यालय मकवानपुर, चितवन, धादिङ, नुवाकोट र रसुवा रहेका थिए । दोस्रो चरण अन्तर्गत असार २७ गते काभ्रेमा बागमती प्रदेश प्रहरी कार्यालय र मातहतका ५ वटा जिल्ला प्रहरी कार्यालयका बीच कार्यसम्पादन करार भएको थियो । दोस्रो चरणमा प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप र दोलखा जिल्लाका प्रहरी प्रमुखसँग कार्यसम्पादन करार गरिएको थियो ।

बागमती प्रदेश प्रहरी कार्यालयले तयार गरेको कार्यसम्पादन करारमा मातहतका कार्यालयहरुले मासिकरुपमा सम्पादन गर्नुपर्ने कार्यहरुको सुचक निर्धारण गरेको छ । सुचकले निर्धारण गरेका विषय अनुरुप कार्यसम्पादन गरी सार्वजनिक प्रशासन अन्तर्गत रहने प्रहरी प्रशासनको कार्यलाई स्तरीय, प्रभावकारी र कार्यको मुल्यांकन योग्य बनाउने, शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण र आन्तरिक व्यवस्थापनलाई सुदृढ, विश्वसनीय र व्यावसायिक बनाउने उद्देश्यले मातहातका कार्यालय प्रमुखहरुसँग कार्यसम्पादन करार गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । कार्यसम्पादन करारको तीनै चरणमा प्रदेश प्रहरी अन्तर्गतका प्रहरी कार्यालयहरुको कार्य सञ्चालन सम्बन्धी जानकारी लिनुका साथै मातहत कार्यालयहरुको समस्या, चुनौती र अपेक्षाहरुको बारेमा जानकारी लिइएको थियो ।

Exit mobile version