हेटौंडा : बारा जिल्लाको कलैया–१ मा सञ्चालित नवजन्म पुनस्थापना (सुधार) केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गत शुक्रबार केन्द्रमा रहेका व्यक्ति तथा कर्मचारीसमेतले कुटपिट गर्दा कलैया–९, रामपुर टोल बस्ने ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदिपप्रसाद मण्डलको मृत्यु भएको हो ।
करिब १५ दिनअघि पुनस्थापना केन्द्रमा भर्ना भएका मण्डललाई सोधी पुनस्थापना केन्द्रमा उपचाररत व्यक्ति तथा केन्द्रका कर्मचारी समेतले मरणासन्न हुने गरी कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । कुटपिटबाट घाइते भएका मण्डललाई उपचारका लागि कलैया सिटी अस्पताल लगिएको थियो । मण्डललाई थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएर डाक्टरले जाँच गर्दा मृत्यु भएको घोषणा गरेका थिए ।
घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी टोली खटिई अनुसन्धान तथा प्रमाण संकलन गरेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घटनामा संलग्न रहेका ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–३ बस्ने १९ वर्षीय सरफराज मन्सुर, कलैया–४ बस्ने २२ वर्षीय निरज सर्राफ र कलैया–६ बस्ने २० वर्षीय राहुल भन्ने महमद आशु मिया शेख छन् । यस्तै, कलैया–१ का २४ वर्षीय अरुण सर्राफ, कलैया–२ का २१ वर्षीय परमेश्वर साह, कलैया– ३ का १९ वर्षीय तमन्ना अली र कलैया–१ का १९ वर्षीय सागर गुप्तालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
घटनामा ९ जनाउपर किटानी जाहेरी परे पनि ७ जनालाई पक्राउ गरी ज्यानसम्बन्धी कुसुर मुद्दामा अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । फरार आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
