हेटौँडा : हेटौँडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापनसम्बन्धमा परेको रिट निवेदन उच्च अदालत पाटन हेटौँडा इजलासले खारेज गरेसँगै हेटौँडा उपमहानगरपालिकाले हेटौँडा बजारक्षेत्रको फोहोर उठाउन सुरु गरेको छ । मंगलबार उच्च अदालत पाटन हेटौँडा इजलासकी न्यायाधीश यमुना भट्टराई र सानुमाया डंगोलको संयुक्त इजलासले रिट निवेदन खारेज गरिदिएको हो । रिट निवेदन खारेज भएसँगै हेटौँडा उपमहानगरपालिकालाई डम्पिङ साइटमा फोहोर व्यवस्थापन गर्न बाटो खुलेको थियो ।
अदालतले रिट निवेदन खारेज गरेलगत्तै मंगलबार मध्यान्हदेखि हेटौँडा उपमहानगरपालिकाले हेटौँडा बजारक्षेत्रको फोहोर उठाउन सुरु गरेको हो । गत मंगलबार योगेन्द्रप्रसाद उपाध्यायले दायर गर्नुभएको रिट निवेदनमा उच्च अदालत पाटन हेटौँडा इजलासकी न्यायाधीश डा. निर्मला पौडेल भट्टराईले अन्तरिम आदेश जारी गर्दै डम्पिङ साइटमा फोहोर नफाल्न भनिएको थियो । उच्च अदालतको अन्तरिम आदेशपछि हेटौँडा उपमहानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै फोहोर संकलनको कार्य स्थगित गरिएको जनाएको थियो । अदालतले डम्पिङ साइटमा फोहोर नफाल्न अन्तरिम आदेश जारी गरेसँगै उपमहानगरपालिकाले वैकल्पिक व्यवस्था नगरी फोहोर संकलन नै रोकेपछि गत शुक्रबारदेखि फोहोर संकलन तथा व्यवस्थापनको कार्य रोकिएको थियो ।
गत मंगलबार उच्च अदालतले अन्तरिम आदेश जारी गर्दै रिट निवेदन दायर गर्ने पक्ष र रिट निवेदनमा विपक्षी बनाइएको हेटौँडा उपमहानगरपालिका र ग्रीन एण्ड क्लिन सिटी प्रालि दुबै पक्षलाई माघ २९ गते मंगलबार अदालतमा छलफलका लागि बोलाएको थियो । मंगलबार रिट निवेदकको तर्फबाट अधिवक्ता अज्मीर केसीले बहस गर्नुभएको थियो भने विपक्षी हेटौँडा उपमहानगरपालिकाको तर्फबाट उपमहानगरका कानुन अधिकृत लक्ष्मण मैनाली र कानूनी सल्लाहकार वरिष्ठ अधिवक्ता ईश्वरराज ढकाल, ग्रीन एण्ड क्लिन सिटी प्रालिको तर्फबाट वरिष्ठ अधिवक्ता ध्रुवप्रसाद चौलागाई, अधिवक्ता मदन प्रसाद दाहाल, मनप्रसाद भट्टराई र बालकृष्ण अधिकारीले बहस गर्नुभएको हो । ५ दिन फोहोर नउठ्दा हेटौँडा बजार क्षेत्रमा फोहोर थुप्रिएको छ ।