हेटौँडा ः हेटौँडा–५, सानोपोखरामा अटो र स्कुटर एक आपसमा ठोकिँदा २ जना घाइते भएका छन् । शनिबार बिहान ७ बजेर ३० मिनेटको समयमा राधाकृष्ण मन्दिर नजिक कान्तिलोकपथ सडकखण्डमा हेटौँडाबाट सानोपोखरा तर्फ जाँदै गरेको ना २ ह १०७३ नम्बरको अटो र भित्री बाटोबाट मेन रोड निस्कदै गरेको बा ५१ प ४७९७ नम्बरको स्कुटर एक आपसमा ठोकिँदा स्कुटरमा सवार २ जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
दुर्घटनामा स्कुटर चालक ६२ वर्षीय प्रदिप राजवाहक र पछाडी सवार ५५ वर्षीया राधा देवी श्रेष्ठ घाइते भएका थिए । घाइते दुवैको हेटौँडा अस्पतालमा उपचारका भइरहेको छ । अटो चालक हेटौँडा–५, पिप्लेका ५८ वर्षीय शंकर बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।