प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीसहित अतिथिहरु ।

हेटौँडा ः हेटौँडा उपमहानगरपालिकाको ४ नम्बर वडाले आयोजना गरेको एक महिना लामो खेलकुद प्रतियोगिताअन्तर्गत सोमबार वडास्तरीय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । वडाको शैक्षिक गुणस्तर सुधार समितिको संयोजकत्व एवम् हेटौँडा–४ स्थित सत्यम् जेभियर्स माध्यमिक विद्यालयको व्यवस्थापनमा वादविवाद प्रतियोगिता भएको हो ।

‘नेपालको सन्दर्भमा विश्वव्यापीकरण, वरदान कि अभिसाप ?’ विषयक वावदविवाद प्रतियोगितामा सत्यम् जेभियर्स माध्यमिक विद्यालयकी सुरुचि तिमल्सिना प्रथम, ब्रह्मदिक एकेडेमीकी स्तुति गुरागाईं द्वितीय र नवोदय शिशु सदनकी शिक्षा भुषाल तृतीय भएका छन् । प्रतियोगितामा ४ नम्बर वडाका ६ वटा विद्यालयबाट १२ जना विद्यार्थी सहभागी भएका थिए । शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ का अध्यक्ष श्रीराम दहालको प्रमुख आतिथ्यमा प्रतियोगिता भएको हो ।