हेटौंडाः बागमती प्रदेश सरकारले ५ सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । गत २०८० देखि हालसम्म प्रदेश सरकारको सहकारी हेर्ने मन्त्रालयले ५ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयले ३ र साविकको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले २ गरी ५ सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो । साविकको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र काठमाडौंको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको थियो ।
सहकारी तथा गरिबी निवारण मन्त्रालयले ललितपुरको सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, काठमाडौंको नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी लिमिटेड र ललितपुरको लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको हो ।
गत भदौ २१ मा पहिलो पटक सिभिल सहकारी, २०८१ कात्तिक ११ मा दर्शन सहकारी र पुस २८ मा नेशनल नमोबुद्ध, लालीगुराँस र सुमेरु सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो । समस्याग्रत घोषणा गरिएसँगै नेशनल नमोबुद्ध र लालीगुराँस सहकारीमा प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालय काठमाडौंले शिल गरिसकेको छ । कार्यालयले सो सहकारीको आयव्ययको अवस्था जाँचबुझ गर्न कम्युटरका हार्डडिक्सहरु सिज गरेको छ भने खाताहरुसमेत रोक्का गरी प्रक्रिया अघि बढाइएको छ ।
समस्याग्रस्त सहकारीहरुको समस्या व्यवस्थापन गर्न गत असार १० मा कार्यालय स्थापना गरेको उक्त समितिले गत साउनबाट मात्र औपचारिकरुपमा काम थालेको थियो । १४ जना कर्मचारीको दरबन्दी कायम गरी काम सुरु गरेको समितिले ४ वटा सहकारीको व्यवस्थापन गर्ने काम गरिरहेको छ ।
सुमेरुमा बिहीबार शिल लगाइने
गत २८ पुसमा नै समस्याग्रस्त घोषणा गरिएको सुमेरु सहकारीमा भने कार्यालयले हालसम्म शिल गर्न सकेको छैन । एउटै नामका ३ सहकारीहरु देखिएको र उक्त विषयहरु मिलाउनु पर्ने भएकाले सुमेरु सहकारीमा शिल गर्न कठिन भएको थियो । काठमाडौं, ललितपुर र काभ्रेमा सुमेरु सहकारी रहेका तथा ललितपुर र काठमाडौंको सुमेरु सहकारीले एकीकरणको सम्झौता समेत गरेकाले शिल गर्न समस्या भएको बताइएको छ ।
उक्त विषय समाधान गर्न विगत ३ दिनदेखि हेटौंडामा छलफल भएको थियो । कार्यालयका प्रमुख महेश आचार्यका अनुसार समस्याग्रस्त सुमेरु सहकारीको विवाद समाधान भएको र बिहीबार शिल गरी आवश्यक कागजात तथा सिस्टम सिज गरिनेछ । सोहीअनुसार हेटौंडामा छलफल भई हाललाई ललितपुरको सुमेरु सहकारीमा शिल गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।
एकीकरणको सहमति भए पनि कारोबारको विवरणमा संलग्नता नरहेकाले काठमाडौंको सुमेरु सहकारीमा शिल नगर्ने निर्णय भएको उहाँको भनाइ छ । तत्कालका लागि ललितपुरको सुमेरु सहकारीमा शिल गर्ने र अनुसन्धानको क्रममा संलग्नता देखिए काठमाडौंको सुमेरुमा पनि शिल गरेर अघि बढ्ने निर्देशन प्राप्त भएको उहाँले बताउनुभयो ।
कति छ ५ सहकारीको दायित्व ?
कार्यालयका अनुसार २ हजार ५ सयभन्दा बढी सदस्य रहेको सिभिल सहकारीका एक हजार बढी सदस्यले ५ अर्ब रुपैयाँभन्दा बढीको मागदाबी गरेका छन् । सोही अनुसार सो सहकारीको बिगो निर्धारण गरी आवश्यक प्रक्रिया अघि बढाइएको आचार्यले बताउनुभयो ।
सो सहकारीको समस्या व्यवस्थापन गर्न समितिले गत असोज २२ मा बचतकर्तालाई सम्पर्कमा आउन ३५ दिने सूचना जारी गरेको उहाँले बताउनुभयो । उक्त सूचनाका आधारमा बचतकर्ताहरु प्रमाणसहित रकम फिर्ताको मागदाबी गर्न समितिको सम्पर्कमा आइरहेको उहाँको भनाइ छ । हालसम्म सो सहकारीको १ हजार ४९१ जना बचतकर्ताको ६ अर्ब ४ करोड ६ लाख ४१ हजार रुपैयाँको माग दावी भएको उहाँले बताउनुभयो । केही बचतकर्ताहरु सम्पर्कमा नआएको र उनीहरुको पनि विषय समाधान गर्नेगरी थप प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । सबै सदस्यले मागदाबी पेस गर्दा सिभिलको करिब ८ अर्ब रुपैयाँको दायित्व देखिन सक्ने अनुमान रहेको छ ।
यता वीरेन्द्र महर्जन अध्यक्ष रहेको सुमेरु सहकारीले २ अर्ब २५ करोड १४ लाख रुपैयाँ बचत फिर्ता गर्न नसकेको मागदाबी रहेको छ । सो सहकारीको १३ अर्ब बढीको सम्पत्ति रहेको अनुमान गरिएको छ भने ७ अर्ब बढीको दायित्व रहेको जनाइएको छ ।
राजकुमार तामाङ अध्यक्ष रहेको नेशनल नमोबुद्ध सहकारीका ७२ बचतकर्ताले बचत फिर्ता माग गर्दै उजुरी दिएका थिए । नेशनल नमोबुद्धको १ अर्ब ५२ करोड रुपैयाँ दायित्व देखिएको छ भने ७० करोड रुपैयाँको सम्पत्ति रहेको मन्त्रालयले जनाएको छ ।
धनबहादुर तामाङ अध्यक्ष रहेको लालीगुराँस सहकारीलाई ९७२ बचतकर्ताको १ अर्ब ६१ करोड ९९ लाख ७५ हजार रुपैयाँ बचत फिर्ता माग गर्दै उजुरी परेको थियो । ३ हजार २३८ सेयर सदस्य रहेको उक्त सहकारीको बचत रकम ३ अर्ब ८६ करोड १४ लाख रुपैयाँ रहेको छ भने सहकारीको लगानी ३ अर्ब १६ करोड २५ लाख रुपैयाँ देखिएको छ ।
दर्शन सहकारीमा ९ हजार ८५७ जना सदस्य र कुल सम्पत्ति १ अर्ब ५७ करोड ४ लाख रुपैयाँ रहेको छ । सहकारीको जम्मा बचत दायित्व ८६ करोड ८० लाख ८६ हजार रुपैयाँ रहेको छ । सहकारीको जम्मा सेयर पुँजी २२ करोड ४५ लाख ४५ हजार रुपैयाँ, जगेडा कोष ४ करोड २५ लाख ७९ हजार रुपैयाँ, ऋण लगानी १ अर्ब ४५ करोड १३ लाख ४५ हजार रुपैयाँ र तिर्नुपर्ने बाह्य ऋण ३४ करोड ७६ लाख १६ हजार रुपैयाँ देखिएको छ ।
दर्शन सहकारीको व्यवस्थापन गर्न गत मंसिर १२ मा बचतकर्तालाई प्रमाणसहित सम्पर्कमा आउन ३५ दिने सूचना जारी गरेको छ । उक्त सूचनाका आधारमा बचतकर्ताहरु सम्पर्कमा आउने क्रममा रहेका छन् । बचतकर्तासँगै ऋणीहरु समेत सम्पर्कमा आएको कार्यालयका प्रमुख आचार्यले बताउनुभयो । दर्शनको एक ऋणीले राष्ट्रिय सहकारी बैंकमा धितो राखेर निकालिएको ऋण चुक्ता गरी बाँकी रहेको ८ लाख रुपैयाँ रकम समस्याग्रस्त सहकारीको खातामा जम्मा गरिएको उनले बताउनुभयो ।
दूरसञ्चारबाट सिभिलको ३५५ ऋणीको खोजी
समस्याग्रस्त घोषित सिभिल सहकरीका ऋणीहरुलाई ऋण तिर्न आउने बारेको ३५ दिने सूचना जारी गरिएको थियो । प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ बमोजिम समितिले गत साउन ७ मा उक्त सूचना प्रकाशन गरेको थियो ।
संस्थाबाट उपभोग गरेको ऋण कर्जा रकमको सावाँब्याज ३५ दिनभित्र समितिको बैंक खातामा जम्मा गरी कर्जा राफसाफ गर्न सूचना जारी गरे पनि समय सीमाभित्र ऋणीहरूले खासै चासो व्यक्त गरेनन् । सोपश्चात् ऋणी खोज्न कार्यालयले दूरसञ्चारलाई पत्राचार गरेको थियो । दूरसञ्चारलाई सिभिलका ऋणीहरुको नामावली र सम्पर्क नम्बरअनुसार तीनपुस्ते विवरण तयार गर्न पत्राचार गरेको थियो ।
उक्त पत्राचार अनुसार सिभिल सहकारीका ३५५ जना ऋणीको तीनपुस्ते विवरण निकालिएको छ । प्राप्त विवरण अनुसार ८ अर्ब ३६ करोड ६८ लाख ३७ हजार रुपैयाँ ऋण असुल गर्नुपर्ने अवस्था रहेको छ ।