Home मुख्य समाचार मकवानपुर क्याम्पसका विद्यार्थीलाई डिजिटल मार्केटिङ्गसम्बन्धी कार्यशाला

मकवानपुर क्याम्पसका विद्यार्थीलाई डिजिटल मार्केटिङ्गसम्बन्धी कार्यशाला

कार्यशालाको क्रममा खिचिएको तस्वीर ।

हेटौँडा ः मकवानपुर बहुमुखी क्याम्पसले डिजिटल मार्केटिङ्गसम्बन्धी ५ दिवसीय कार्यशालाको आयोजना गरेको छ । सोमबार क्याम्पसले स्नातक तहमा अध्ययरत (विविए र विविएम छैठौँ सेमेस्टर) विद्यार्थीका लागि कार्यशाला आयोजना गरेको क्याम्पस प्रमुख डा. यम बहादुर सिलवालले जानकारी दिनुभयो ।

अहिलेको समय डिजिटल प्रविधिको भएकोले विद्यार्थीले विभिन्न सामाजिक सञ्जालको माध्यमबाट अनलाइन व्यवसाय नै सञ्चालन गरिरहेको सन्दर्भमा त्यसलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको क्याम्पस प्रमुख सिलवालले जानकारी दिनुभयो । सञ्चार प्रविधिको विकासले घरबाटै व्यवसाय सञ्चालन गर्न सकिने सम्भावनाका विषयमा पनि विद्यार्थीलाई जानकारी दिने गरी कार्यशालाको आयोजना गरिएको उहाँको भनाइ छ । शनिबारसम्म संचालन हुने कार्यशालामा १०६ जना विद्यार्थीको उपस्थिति रहेको छ ।

कार्यशालाको उद्घाटन कार्यक्रम मकवानपुर क्याम्पसको विविए र विविएम कार्यक्रम निर्देशक मधु कुमार सिंहको सभाध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यमा भएको थियो । पौडेल मकवानपुर बहुमुखी क्यामपस सञ्चालक समितिको निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । कार्यशालामा क्याम्पस प्रमुख यम बहादुर सिलवाल, सहायक प्रमुख संगम चौलागाई, उत्तम अर्यालको आतिथ्य रहेको थियो । कार्यशालामा डिजीटेक कम्पनिका निर्देशक किरण दहालले सहजीकरण गर्नुहुनेछ ।

Exit mobile version